• १० मंसिर २०८१, सोमबार

दोलखाका स्थानीय तहले २० लाख सहयोग गर्ने

blog

सुजन काफ्ले

चरीकोट, कात्तिक २० गते । दोलखाका सबै स्थानीय तहले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् । सोमबार जिल्ला समन्वय समिति दोलखाको कार्यालयमा बसेको गाउँ तथा नगरप्रमुखको बैठकले २० लाख रुपियाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

२ नगरपालिका र ७ गाउँपालिका रहेको दोलखामा नगरपालिकाले ३ लाख र गाउँपालिकाले २ लाख रुपियाँका दरले सहयोग गर्ने निर्णय गरेको हो । स्थानीय तहहरूले भूकम्प प्रभावितका लागि पालिकाको कोषबाट सो सहयोग गर्ने भएका हुन् । 

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनः निर्माणलगायतका कार्यमा सहयोग गर्न उक्त रकम दिने निर्णय गरिएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले बताउनुभयो । जिल्लाको भीमेश्वर नगरपालिका र जिरी नगरपालिकाले ३–३ लाखको दरले ६ लाख, तामाकोसी बैत्यश्वर, मेलुङ, शैलुङ, गौरीशङ्कर, बिगु र कालिन्चोक गाउँपालिकाले २–२ लाखका दरले १४ लाख गरेर २० लाख रुपियाँ सहयोग उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।

जिल्लाका स्थानीय तहका प्रमुखहरूले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोग गर्न दोलखावासीलाई आग्रह गरेका छन् । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाइ गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र पश्चिमरुकुममा ठुलो जनधनको क्षति भएको छ । भूकम्पमा ढेडसय बढीको मृत्यु र दुईसय बढी घाइते भएका छन् ।