• १२ साउन २०८१, शनिबार

गोरखाको स्थानीय तहले भूकम्पपीडितलाई सहयोग गर्ने

blog

गुणबहादुर रोका 

सुलीकोट, कात्तिक २० गते । जाजरकोट र रुकुमपश्चिमको भूकम्पपीडितलाई गोरखाको ११ वटै स्थानीय तहले सहयोग गर्ने  निर्णय गरेका छन् । गोरखाका दुई नगरपालिका गोरखा नगरपालिका र पालुङटार नगरपालिकाले १ लाख ५० हजारका दरले सहयोग गर्ने भएका छन् ।

त्यस्तै, अन्य ९ वटा पालिकाले १–१ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिनुभयो । आइतबार जिल्ला सदरमुकाममा सबै स्थानीय तहका प्रमुख र उपप्रमुख बिच भएको छलफलले यस्तो निर्णय गरिएको राना मगरले बताउनुभयो । 

भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमलगायतका प्रभावित क्षेत्रमा ठुलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति तथा सयौँ सङ्ख्यामा घाइते भएकाहरूप्रति दुःख व्यक्त गर्दै स्थानीय तहले विपद्को समयमा सबै एक ठाउँ भएर विपद्को सामना गर्नुपर्ने बैठकले निर्णय गरेको छ । 

गोरखाबाट जान लागेको ११ पालिकाको १३ लाख रुपियाँ राज्यको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेभएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।