• ५ जेठ २०८१, शनिबार

हत्या गरिएको अवस्थामा वृद्धाको शव फेला

blog

वृद्धाको शव फेला परेपछि घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीय । तस्बिर : अर्जुन सिंह

अविनाश चौधरी

धनगढी, कात्तिक २० गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –७ शान्तिपुरस्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा हत्या गरिएको अवस्थामा वृद्धाको शव फेला परेको छ । 

सोही वडाका ६३ वर्षीया नारुदेवी जोशी (नन्दादेवी) को शव फेला परेको हो । हिजो मध्याह्न घाँसका लागि स्याउला लिन जङ्गल जानुभएकी जोशी घर नफर्केपछि खोजतलास गर्ने क्रममा हत्या गरिएको अवस्थामा आज बिहान ४ बजेतिर शव फेला परेको वडाध्यक्ष प्रताप धामीले जानकारी दिनुभयो । 

उहाँका अनुसार घटनाको प्रकृति हेर्दा वृद्धाले लगाउनुभएकाे सुनको गहना लुटपाटका लागि हत्या भएको जस्तो देखिएको छ । वृद्धाले लगाउनुभएको एक तोलाको मुन्द्रा, दुई आनाको तिलहरी, दुई आनाको नथियालगायत गरी डेढ तोलाको गरगहना लुटेर लगिएको छ । 

“नाक रक्ताम्य पारेर गहना लुटिएको छ” वडाध्यक्ष धामीले भन्नुभयो, “सुनको गहना लुट्नकै लागि वृद्धाको हत्या गरेर जङ्गलमा फालिएको हुनसक्छ” उहाँले भन्नुभयो ।