• १० पुस २०८१, बुधबार

आगलागीले ३५ लाख बरावरको क्षति

blog

आगलागीले क्षति भएको घर । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक २० गते । गुल्मीको एक पसलमा आगलागी हुँदा ३५ लाख रुपियाँ बराबरको क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका –७ देउराली चारपाला फेदीमा टोपबहादुर बस्नेतको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो । 

गएराति बस्नेतको दुई तले कच्ची किराना पसल राखेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट १५० सीसीको पल्सर मोटरसाइकल, एक हिरो होण्डा मोटरसाइकल, ग्यास सिलिन्डर चार वटा, चामल २५ केजीका २० बोरा र अन्य सामानसहित नगद दुई लाख र करिब ३ तोला गहना जलेर नष्ट भएको छ ।

करिब १२:३० बजेको समयमा लागेको सो आगो करिब ३:२० बजेको समयमा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ । घर पूर्णरुपमा जलेको छ । के कारणले आगलागी भयो भनेर बुझ्ने काम जारी भएकाे प्रहरीले जनाएको छ ।