विष्णुप्रसाद पोखरेल
दमक, कात्तिक २० गते । झापाको पाडाजुंगी गौरीगन्ज सडकखण्डको स्तरोन्नतीका लागि साढे तीन किलोमिटर भत्काइएको सडक वर्षदिन अघिदेखि अलपत्र पारिएपछि स्थानीयले ठाउँठाउँमा अवरोध गरेका छन् । ढाट तेर्स्याएर र बयरका रुख ढालेर बयरका काँडासहित स्थानीयले सडक अवरोध गरेका हुन् ।
पाडाजुँगीदेखि दहीचोकसम्म तीन किलोमिटर क्षेत्रमा सात ठाँउभन्दा बढी सडक अवरोध गरिएको छ । कमल गाउँपालिकाका पूर्वउपाध्यक्ष बेनुप्रसाद शिवाकोटीका अनुसार यो आर्थिक वर्षमा सडक बनाउने रकम केन्द्रीय सरकारले नछुट्याएका कारण सडक निर्माण अलपत्र परेपछि धुलोबाट बच्न स्थानीयले सडक अवरोध गरेका हुन् ।
बजेट बेगर सडक सङ्घीय सरकारले कोशी प्रदेशलाई जिम्मा लगाइएको रहेछ, शिवाकोटीले भन्नुभयो । उहाँका अनुसार केही दिन अघि सरोकारवाला निकायहरुमा गएर सङ्घीय सरकारमा नै बाटो फिर्ता लैजान र आवश्यक बजेट विनियोजन गर्नका लागि दबाब दिएको छ ।
भत्काइएको सडक निर्माणका लागि करिब पाँच करोड बजेट आवश्यक पर्ने सडक डिभिजन कार्यालय दमकले जनाएको छ । खरिढुङ्गा–माङ्वा–पूर्वाञ्चल जेभीले ११ करोड लागतमा निर्माण सम्झौता गरेको र काम गरेको रकम पनि केही भुक्तानी दिन बाँकी रहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
सडक निर्माणका लागि आवश्यक बजेट सुनिश्चितता नभएसम्म निर्माण व्यवसायीले काम नगर्ने अडानले गर्दा समस्या भएको हो, सडक डिभिजन कार्यालय दमकका इन्जिनियर गौतमकुमार देवले बताउनुभयो । ‘‘लिखित रुपमा नै बजेट सुनिश्चितताको माग निर्माण व्यवसायीले गरेका छन् तर हामीले त्यो दिन सकेका छैनौं,’’ उहाँले भन्नुभयो ।