• १२ साउन २०८१, शनिबार

भूकम्पमा घाइते गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालियो

blog

एनआरएनएबाट प्राप्त सहयोग रकम नौ हजार रुपियाँ घाइते महिलालाई प्रदान गरिँदै । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, कात्तिक २० गते ।
भूकम्पमा परी घाइते भएकी एक गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालिएको छ । भेरी अस्पतालमा उपचाररत नलगाड गाउँपालिका–६, जाजरकोटको १९ वर्षीया गर्भवती महिला जमुना बुढामगरको पेटबाट मृत बच्चा निकालिएको हो ।

गर्भवती घाइते महिलाको स्वास्थ्य चेकजाँच गर्दा पेटभित्र आठ महिनाको गर्भ रहेको र पेटभित्रै बच्चा मृत अवस्थामा रहेको पाइएपछि औषधिमार्फत मृत बच्चालाई बाहिर निकालिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

डा.नवीन बुढाथोकी र प्रसूति कक्षका नर्सिङ टिमले उहाँको पेटमा रहेको आठ महिनाको पुरुष मृत बच्चालाई बाहिर निकाल्नका लागि औषधिबाट व्यथा लगाई गएराति ७ः२० बजेको समयमा सामान्य सुत्केरी गराइएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । घाइते गर्भवती महिलाको बच्चा पेटबाट बाहिर निकाली सकिएपछि थप जाँच तथा उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

मृत बच्चाको सोमबार बिहान जमिनमा गाडेर शव व्यवस्थापन गरिएको र शव व्यवस्थापका लागि बाँके युनेस्को क्लबले पाँच हजार रुपियाँ आर्थिक सहयोग गरेको श्रेष्ठले बताउनुभो । त्यसैगरी एनआरएनएबाट पनि घाइते सुत्केरी महिलाको कपडा तथा सामान्य मोबाइल र रिचार्जका लागि नौं हजार आर्थिक सहयोग प्राप्त भएको र उक्त रकम पनि घाइते सुत्केरी महिलालाई प्रदान गरिएको श्रेष्ठले जानकारी दिनुभयो । घाइते महिलाको श्रीमानको पनि घटनास्थलमै मृत्यु भएको र घर पनि पूर्णरुपमा क्षति भएको श्रेष्ठले जानकारी दिनुभयो ।