• ३ असार २०८१, सोमबार

राहतसँगै मृतक परिवारलाई किरिया खर्च

blog

मृतकका परिवारलाई किरिया खर्च र राहत हस्तान्तरण गरिँदै । तस्बिर: राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, कात्तिक २० गते । सरकारले भूकम्पबाट मृत्यु भएका मृतकका परिवारलाई जनही दुई लाख वितरणसँगै स्थानीय सरकारले किरिया खर्चसमेत उपलब्ध गराएको छ । रुकुम पश्चिममा मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउन थालिएको हो । 

शुक्रवार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण रुकुम पश्चिमको आठबिसकोटमा ४२ जनाको मृत्यु भएको छ भने सयौँ घरमा क्षति पुगेको छ । भूकम्प प्रभावित क्षेत्र आठबिसकोट, सानीभेरी, चौरजहारी, त्रिवेणी लगायतका स्थानीय तहमा पीडित र प्रभावितहरू राहतको पखाईमा छन् । 

यसैबिच जिल्लाको आठबिसकोटमा राहत वितरणसँगै मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराउन सुरु गरिएको छ । सोमबार बेलुकाबाट मृतक परिवार र पीडितहरूको घरमा पुगेर राहत उपलब्ध गराउन थालिएको हो । 

नगरप्रमुख रबी केसीले सबैभन्दा बढी प्रभावित बनेको वडा नम्बर १४ मा पुगेर आफ्नो नेतृत्वको टोलीले किरिया खर्च र राहत वितरण सुरु गरेको बताउनुभयो । शुक्रवार रातिबाट खोज र उद्धार, सोमबार दिनभर उद्धार र उपचारको काममा सक्रिय भएर सोमबार राहत सङ्कलनको काममा लागेको उहाँले जानकारी दिनुभयो । 

आइतबार मृतकहरूको दाहसंस्कारपछि मृतककै घरमा पुगेर रातीबाट नै किरिया खर्च र राहत वितरण सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो र उप प्रमुखको नेतृत्वमा रहेको टोलीले आइतबार अबेलासम्म सात परिवारलाई किरिया खर्च र ७० बढी परिवारलाई राहत उपलब्ध गराइसकिएको बताउनुभयो । नगरका अन्य स्थानमा पनि विभिन्न निकायले सहयोग वितरण गरेको उहाँको भनाइ छ । 

मृतकका परिवारलाई २५ हजार रुपियाँ किरिया खर्च र तत्कालको लागि राहत सामाग्री बोकेर सबै जनशक्ति फिल्डमा परिचालन भएको नगर प्रमुख केसीले उल्लेख गर्नुभयो । राहत वितरण कार्यमा प्रदेश सभा सदस्यहरू महेन्द्र केसी र कल्याणी खड्का, जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, आठबिसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोर्खाबहादुर केसी, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति रमा गौतमसहितको टोली स्थानीय सरकारसँगै सक्रिय भएर लागिरहेको छ । 

पीडितहरूलाई उपलब्ध गराएको कर्णाली प्रदेश सरकार, राहत शान्ति नेपाल, नेपाल रेडक्रस सोसाइटी, विश्व खाद्य कार्यक्रम लगायत अन्य सङ्घ संस्थाको सहयोग गरेका हुन् ।