• ३ असार २०८१, सोमबार

चिसो रातमा किरिया पुत्री र पीडितको त्रिपालमुनि बास

blog

आठबिसकोट नगरपालिका –११ मा त्रिपालमुनि बसेका किरिया पुत्रीहरु । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, कात्तिक २० गते । भूकम्पले जनधनको क्षति गरेपछि रुकुम पश्चिमका विभिन्न स्थानमा रहेका भूकम्प पीडित र प्रभावित परिवारहरूले घर बाहिरै दिनरात कटाउने गरेका छन् । 

पीडित र प्रभावित परिवारसँगै चिसो रातमा किरिया पुत्रीले समेत त्रिपालमुनि रात बिताउन बाध्य भएका छन् । आइतबार दाहसंस्कार गरिएका ५२ जनाका अधिकांश परिवार त्रिपालमुनि नै छन् । अधिकांशका घर भत्किएको, बस्न नमिल्ने गरेर चर्किएको र फेरि भूकम्प आउने त्रासका कारण किरिया पुत्रीसहितका प्रभावितहरू खुला चौरमा त्रिपाल टाँसेर बसेका हुन् । 

सबैभन्दा बढी प्रभावित क्षेत्र आठविसकोट नगरपालिका वडा नम्बर ११, १२, १३ र १४ र सानी भेरी गाउँपालिका वडा नम्बर १ र ४ मा सयौँ घर परिवार बारीमा त्रिपाल टाँसेर रात बिताउने गरेका छन् । स्थानीय सरकार, विभिन्न सङ्घ संस्था र राजनीतिक दल समेतले उपलब्ध गराएका त्रिपाल र केही कम्बलको भरमा पीडितहरूले रात बिताएका छन् । जिल्लाको चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका समेतका सर्वसाधारण त्रिपालमुनि रात बिताएका छन् । 

आठविसकोट नगरपालिका ११ का हरि पुनले आफ्नी सानी आमाको भूकम्पमा परेर मृत्यु भएको र सबै परिवार त्रिपालमुनि नै बसेको बताउनुभयो । चिसो रातमा पराल बिछ्याएर बस्न बाध्य भएको उहाँले जानकारी दिनुभयो । मृतकका परिवारहरू मात्र नभएर सयौँ पीडित र प्रभावित परिवारहरू त्रिपालमुनि नै बसिरहेको उहाँले उल्लेख गर्नुभयो । 

राहत सङ्कलन र वितरण तीव्र

यसैबिच, जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्प पीडितहरूको लागि राहत सङ्कलन र वितरणको कारण तीव्र रूपमा भइरहेको जनाएको छ । समितिको समन्वयमा स्थानीय सरकारले राहत वितरण सुरु गरेको हो । 

सोमबार बेलुकासम्म खोज, उद्धार र राहत सङ्कलनको काममा सक्रिय भएका जिल्ला सुरक्षा समितिको टोलीदेखि स्थानीय सरकारका प्रमुखहरूले सोमबारदेखि नै राहत वितरण सुरु गरेको जनाएका छन् । 

आठविसकोट नगरपालिका प्रमुख रबी केसीले वडा नम्बर १४ मा पुगेर राहत वितरण सुरु गरिएको जानकारी दिनुभयो । उहाँले उपप्रमुख धनकुमारी शाहीको नेतृत्वमा रहेको अर्को टिमले पनि वडा नम्बर ११ बाट राहत वितरण गरिरहेको उल्लेख गर्नुभयो । 

सानी भेरी गाउँपालिकाले पनि सोमबार बेलुकाबाटै राहत वितरण सुरु गरेको छ । गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले भूकम्पमा परेर रुकुम पश्चिममै ज्यान गुमाएका १० जना र जाजरकोटमा ज्यान गुमाएका सानी भेरी गाउँपालिकाका दुई जनाको आइतबार दाहसंस्कार सकेर राहत वितरणमा खटिएको जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले एकद्वार प्रणालीमार्फत राहत वितरणको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले विभिन्न क्षेत्र र निकायबाट राहत सामग्री प्राप्त भइरहेकाले केही पीडितलाई आइतबार उपलब्ध गराई सकिएको र बाँकीलाई आज दिनभरमा उपलब्ध गराइसक्ने बताउनुभयो ।