• १२ साउन २०८१, शनिबार

भूकम्पपीडितलाई एमाले सांसदको सात दिनको पारिश्रमिक सहयोग

blog

बैठकमा सहभागी एमाले नेताहरु । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक १९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकीको प्रदेश सभा संसदीय दलले भूकम्पपीडितलाई एक साताको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले संसदीय दलको आकस्मिक बैठकले सो निर्णय गरेको हो । 

एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रत्येक प्रदेश सभा सदस्यको एक साताको पारिश्रमिक पठाउने निर्णय भएको जानकारी दिनुभयो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २२ सदस्य छन् । प्रदेश सभा उपसभामुख बिनाकुमारी मगरलाई संसदीय दलले निर्देशन दिन नमिल्ने जनाउँदै नेता अधिकारीले २१ जनाको पारिश्रमिक करिब तीन लाख पठाइने जानकारी दिनुभयो ।  

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका अधिकारीले अहिले उद्धारको क्रम जारी रहेको जनाउँदै क्षतिको पूर्ण विवरण आइसकेपछि पुनर्स्थापना र पुनर्निर्माणका लागि थप सहयोग आवश्यक परे त्यसका लागि तयार रहेको बताउनुभयो । “गण्डकी सरकारले नै सबै सांसदसँग अनुरोध गर्लाकी भन्ने सोचेका थियौँ, कसै न कसैले सुरु गर्नुपर्छ भनी घोषणा गरेका हौँ” उहाँले भन्नुभयो ।

एमाले संसदीय दलको बैठकले शुक्रबार राति गएको भूकम्पबाट निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । एमाले गण्डकीका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले उद्धार, उपचार र पुनर्स्थापनामा कुनै कमी हुन नदिन आग्रह गर्दै सङ्घीयताको मर्मअनुरूप एक प्रदेशमा विपत्ति आउँदा अर्को प्रदेशले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।