गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १९ गते । नेपाल पौडी सङ्घको निमन्त्रणामा अन्तर्राष्ट्रिय पौडी महासङ्घ (वर्ल्ड एक्वाटिक्स) का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । पौडी खेलको विकास र विस्तार गर्नेक्रममा विभिन्न देशको भ्रमणमा रहनुभएका अध्यक्ष हुसेनले नेपालमा पौडी तथा एक्वाटिक्स खेलको विकासबारेमा जानकारी लिने र पौडी तथा एक्वेटिक्स खेलको विकासलाई अझै अगाडि बढाउने उद्देश्यसाथ पौडी सङ्घका पदाधिकारीहरू र सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष हुसेन कात्तिक २१ गते मङ्गलबार काठमाडौँ आइपुग्ने जानकारी नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले दिनुभयो । अध्यक्ष हुसेनको भ्रमणले नेपालका पौडी खेल तथा त्यससँग सम्बन्धित अन्य खेलको विकासमा सहयोग पुग्ने अध्यक्ष बज्राचार्यले बताउनुभयो । यसैगरी नेपालमा पौडी खेललगायत एक्वाटिक्स खेलको विकासका लागि महासङ्घका कोचिङ्ग एडभाइजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वर्ल्ड च्याम्पियन) पनि सोमबार नेपाल आउनुहुनेछ ।
उहाँहरूले सोमबार र मङ्गलवार दुई दिन नेपालको पौडी प्रशिक्षकलाई प्रशिक्षण दिनुहुनेछ । सो अवसरमा नेपाली प्रशिक्षकले कोचिङ्ग स्किल डेभलपमेन्टसम्वन्धि सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्राप्त गर्नेछन् । सो कार्यक्रममा नेपालका प्रमुख पौडीबाजहरूले पनि सहभागिता जनाउने पौडी सङ्घका अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।