काठमाडौं, कात्तिक १९ गते । बैङ्किङ कसुर मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार अम्बर बहादुर राईको जाहेरीमा बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको मिति २०७९ चैत १६ गतेको फैसलाले सात दिन कैद र २० लाख रुपियाँ बिगो जरिवाना तोकी फरार रहेका मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं. १८ स्थायी घर भई हाल काठमाडौँ कलङ्की बस्ने श्रेष्ठलाई पक्राउ गरिएको छ ।
प्रहरीले उनलाई चाबहिलबाट पक्राउ गरी आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ ।
यसैगरी, जितेन्द्र बहादुर गलानको जाहेरीमा बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी राम कुमार जैरु दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उच्च अदालत पाटन ललितपुरको मिति २०७९ चैत १२ गतेको फैसलाले उनलाई एक दिन कैद र बिगो तीन लाख रुपियाँ जरिवाना तोकेको थियो ।
नुवाकोट विदुर नगरपालिका वडा नं. १३ स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–८ चागाथली बस्ने ४६ वर्षीय जैरु दमाईलाई ललितपुरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।