• ८ जेठ २०८१, मङ्गलबार

फिलिपिन्समा रेडियो प्रसारकको हत्या

blog

मनिला, कात्तिक १९ गते । फिलिपिन्समा आइतबार एक रेडियो प्रसारकलाई उनको स्टुडियोभित्रै गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार फिलिपिन्समा मारिएका पत्रकारहरूको लामो सूचीमा यो नयाँ घटना हो ।

मिसामिस अक्सिडेन्टल प्रान्तमा कलाम्बा नगरपालिकाका प्रहरी प्रमुख क्याप्टेन डेओर रगिनियोका अनुसार दक्षिणी टापु मिन्डानाओस्थित आफ्नो घरमा रहेको रेडियो स्टेसनमा बन्दुकधारीले ५७ वर्षीय जुआन जुमालोनको टाउकोमा गोली चलाएका थिए ।

संदिग्ध बन्दुकधारी अन–एयर घोषणा गर्ने बहाना बनाएर स्टुडियोमा प्रवेश गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार गोली हानेपछि अपराधी भाग्यो र जुमालोनलाई स्थानीय अस्पतालमा मृत घोषणा गरिएको थियो ।

सन् २०२२ जुनमा राष्ट्रपति फर्डिन्यान्ड मार्कोसले पदभार सम्हालेपछि हत्या भएका पत्रकारमा जुमालोन चौथो व्यक्ति भएको नेसनल युनियन अफ जर्नालिस्ट्सले बताएको छ ।

पत्रकारहरूका लागि फिलिपिन्स विश्वमा सबैभन्दा खतरनाक स्थान हो र यहाँ पत्रकारका हत्याराहरू प्रायः सजायबाट बच्ने गरेका छन् ।

राजधानीबाहिर प्राय रेडियो प्रसारक निशानामा पर्ने गरेका छन् । जुमालोनले आफ्नो सेबुआनो–भाषा ९४।७ गोल्ड एफएम कलाम्बा स्टेसनमा ‘डिजे जोनी वाकर’ नाम प्रयोग गरे ।

प्रहरी प्रमुख रगिनियोले प्रहरीले हत्याको उद्देश्यको अनुसन्धान गरिरहेको बताउनुभयो । आफूहरूलाई जुमालोनको जीवन खतरामा रहेको पछिल्लो अवस्थाबारे थाहा नभएको उहाँले बताउनुभयो । “उहाँ धेरैजसो समसामयिक घटनाहरूलाई प्राथमिकता दिनुहुन्थ्यो र आफ्नो प्रसारणमा उहाँले कसैलाई आलोचना गरेको थाहा थिएन”, रगिनियोले भन्नुभयो । रासस/एएफपी