• २० असार २०८१, बिहिबार

खोज तथा उद्धार कार्य जारी

blog

सेनाद्वारा जाजरकोटका भूकम्प प्रभावितहरूको खोज तथा उद्धार कार्य जारी । तस्बिर : रासस

काठमाडौं, कात्तिक १९ गते । नेपाली सेनाले जाजरकोटका भूकम्प प्रभावितहरूको खोज तथा उद्धार कार्य जारी राखेको छ । कार्तिक १७ गते जाजरकोटमा भूकम्प गएलगत्तै परिचालित सेनाले जाजरकोटको १३ स्थान र पश्चिम रुकुमको सात स्थानमा तैनाथ रही उद्धार कार्य जारी राखेको हो । 

सेनाको हवाई साधनद्वारा जाजरकोट तथा रुकुम पश्चिमबाट हालसम्म ३१ घाइते र २४ जना कुरुवालाई नेपालगञ्ज तथा सुर्खेत पुराएको र आज बिहान जाजरकोटबाट थप एक जना घाइतेको हवाई उद्धार गरिएको सेनाले जनाएको छ ।

साथै, सेनाको स्वास्थ्यकर्मी एवम् विशेषज्ञहरू समेतको विभिन्न युनिटहरूको टोली १० स्थानमा तैनाथ रहेको छ । जाजरकोट अस्पताल, चौरजहारी तथा आठबिसकोट इलाकामा खटिएको मेडिकल टोलीबाट १२५ जना घाइतेहरूको उपचार भएको छ । 

परिचालित फौजले तथा अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैर सरकारी सङ्घ संस्थाका पदाधिकारीलगायत आम सर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकाहरूमा भग्नावशेष हटाउने, भग्नावशेषमा पुरिएका सामानहरू निकाल्ने तथा भूकम्प प्रभावितको अस्थायी बास स्थान व्यवस्थापन लगायतका कार्यहरू गरिरहेको छ । 

परिचालित हवाई साधनहरूले जटिल प्रकृतिका घाइतेहरूलाई थप उपचारको लागि उद्धार गर्नुको साथै राहत सामग्री ढुवानी गरिरहेका छन् । हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा करिब दश हजार किलो औषधिजन्य र अन्य अति आवश्यक राहत सामग्री भूकम्प प्रभावित इलाकामा ढुवानी गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा काठमाडौँले जनाएको छ ।