अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक १९ गते । अर्जुनचौपारी गाउँपालिका–१ की ८१ वर्षीय कुन्तीदेवी अर्यालले गाउँमै आँखाको उपचार गर्न पाएकोमा खुसी हुनुभएको छ । २० वर्षबाट आँखाको समस्याबाट पटक–पटक काठमाडौँ पुगेर उपचार गर्नु भएकी अर्यालले बुढेसकालमा घरबाहिर उपचार गर्न नसक्ने अवस्थामा नजिकै उपचार पाउनुभएको हो ।
यहाँ एसोसिएसन अन्नपूर्ण नेपालले हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा दरौखोला सामीप्य समाजको व्यवस्थापनमा निःशुल्क आँखा शिविर आयोजना गरेको हो । पुतलीबजार नगरपालिका –१३ को महेन्द्र आधारभूत विद्यालयमा गरिएको शिविरमा काठमाडौँमा आँखाको उपचार गर्दा धेरै खर्च गरेको बताउँदै अर्यालले गाउँमा निःशुल्क सेवा पाएको बताउनुभयो ।
अर्यालजस्तै ७५ वर्षीय प्रेमबहादुर क्षेत्रीले पैसाको अभावमा १५ वर्षबाट उपचार नगरी बसेको र गाउँमै उपचार गरेको बताउनुभयो । उपचार गरेका अर्याल र क्षेत्रीको मोतियाबिन्दु भएको र अब पोखराको हिमालय अस्पतालमा अप्रेसन हुनेछ ।
पुतलीबजार नगरपालिका–१३ का वडा सदस्य सूर्यबहादुर रोकाले एक दिने आँखा शिविरमा पुतलीबजार र भीरकोट नगरपालिका तथा अर्जुनचौपारी गाउँपालिकाका २६३ बिरामीले सेवा लिएको बताउनुभयो ।
शिविरमा ६ जनामा मोतियाबिन्दु र एक जनाको आँखाको पर्दामा समस्या रहेको रोकाले बताउनुभयो । शिविर डा. सुदर्शन पौडेलको नेतृत्वमा ११ जनाको मेडिकल टोलीले गरेको थियो भने यहाँ उपचार गरेका सबै बिरामीलाई निःशुल्क औषधि दिइएको थियो । शिविरमा बच्चादेखि वृद्धाहरू उपचारका लागि आएको र वृद्धाहरूले गाउँमै उपचार गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।