• १२ साउन २०८१, शनिबार

भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड सहयोग गर्ने

blog

शालिग्राम नेपाल

चितवन, कात्तिक १९ गते । भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक  करोड  रुपियाँ आर्थिक सहयोग गर्ने  निर्णय गरेको छ । आइतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माणलगायतका कार्यमा सहयोग गर्न महानगरले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा १ करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको हो ।

जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायक स्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुनेगरी मिलाइएको छ ।  

प्रमुख दाहालले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण भरतपुरवासीलाई आह्वान गर्नुभएको छ ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बना गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पको केन्द्रबिन्दु आसपास रहेका जाजरकोट, रुकुमलगायतका जिल्लाका अधिकांश कच्ची घर भत्किएका छन् । मानवीय क्षतिसँगै पशु चौपाया र भौतिक संरचनामा क्षति पुगेको छ ।