लेखनाथ, कात्तिक १९ गते । पोखरा महानगरका–१५ नयाँ गाउँ नजिक सेती नदीको खोँचमा खसेका युवकलाई प्रहरीले निकालेको छ । शनिबार राति ७ः४५ बजेतिर नदी छेउमा धाँजा फाटेको ठाउँमा खसेका पर्वतको फलेवास–३ का १९ वर्षीय सुदीप विकलाई प्रहरीले निकालेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।
सुदीप नयाँ गाउँमा दाइको घरमा बस्दै आउनुभएको थियो । उहाँको उद्धारका लागि वडा प्रहरी कार्यालय रामबजारबाट सात जनाको प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट छ जनाको रेस्क्यु टोली र सशस्त्र बल नेपाल नं. २४ गण कालिका कास्कीबाट ११ जनाको उद्धार टोली खटिएको थियो । टोलीले शनिबार राति १० बजे विकलाई उद्धार गरेको हो ।
शरीरमा सामान्य दर्फरिएको बाहेक उहाँको स्वास्थ्य अवस्था सामान्य छ । विकको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।