• २ जेठ २०८१, बुधबार

पाल्पामा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते

blog

इमान सिं राना
रामपुर (पाल्पा), कात्तिक १९ गते ।
पाल्पामा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी सिद्धार्थ राजमार्गअन्तर्गत रम्भा गाउँपालिका–३ सेरामा दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।

आइतबार बिहान घुम्तीमा अनियन्त्रित भई सडक छेउमा रोकी राखेको ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा चालक पोखरा उप–महानगरपालिका १५ कास्की बस्ने ३८ वर्षीय सुरेश गुरुङ, ट्याक्सीमा सवार पोखरा उपमहानगरपालिकाका १५ नयाँ गाउँ बस्ने ७४ वर्षीय धनबहादुर गुरुङ, सोही स्थानका ७० वर्षीय गङ्गा गुरुङ, ४० वर्षीय विनोद गुरुङ र बुटवल उपमहानगरपालिका १० रामनगर रुपन्देहीका ७२ वर्षीय भीमबहादुर गुरुङ छन् ।

घाइतेमध्ये चालको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुलाई उपचारका लागि युनाइटेड मिशन अस्पताल तानसेन पठाइएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।