• ६ कात्तिक २०८१, मङ्गलबार

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रका तीन डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर

blog

तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट लिएर सशस्त्र प्रहरी बल नेपाल भूकम्प प्रभावित क्षेत्रतर्फ । तस्बिर : सशस्त्र प्रहरी बल

काठमाडौं, कात्तिक १९ गते । भूकम्पपीडितहरुका लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट लिएर त्यसतर्फ पठाइएको छ । 

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज (आइतबार) बिहान करिब पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार सात सय थान टेन्ट लिएर पश्चिम रुकुमका लागि हिँडेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको सात सय थान र नं. २२ गुह्येश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर त्यसतर्फ पठाइएको जानकारी दिनुभयो ।

यसअघि भूकम्प पीडितहरुका लागि आवश्यक सामग्रीसहित दाङ्बाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटका लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठाइसकिएको छ ।