नेत्र शाही
जुम्ला, कात्तिक १९ गते । जुम्लामा विरामी वाकेर ल्याएको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हिमा गाउँपालिका १ देवार गाउँका अटो चालक अन्दाजी ४५ वर्षका पदमबहादुर शाही, सो गाउँका अन्दाजी ४२ वर्षका बलि रोकायाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार देवार गाउँबाट बजार आउने क्रममा बड्की गाउँको सडकबाट अटो दुर्घटना भएको थियो । प्रहरीका अनुसार अटोमा सवार अन्दाजी ४० वर्षको नन्द रोकाया घाइते भएका छन् । घाइतेलाई कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण तर्फ पठाइएको स्थानीयले जनाएका छन् ।
गए राति बिरामी लिएर अटो चालक पदमबहादुर शाही नाग्मबाट घर देवार गाउँ हिँडेका थिए । वडा नम्बर १ बड्की गाउँको नाग्म गमगडि राजमार्गबाट राति दुर्घटना भएको र कसैले थाहा नपाई बिहान मात्रै जानकारी भएको प्रहरीले जनाएको छ ।