ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, कात्तिक १९ गते । ताप्लेजुङको पर्यटकीय गन्तव्य ओलाङ्चुङगोलामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकीय मौसमसँगै फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलामा अहिले पर्यटकको चहलपहल बढ्दै गएको हो ।
ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाका अनुसार दसैँयता दिनहुँ जसो बाह्य तथा आन्तरिक पर्यटकको उपस्थिति हुँदै आएको छ । हिजोआज पर्यटकको उपस्थितिले ओलाङ्चुङगोलामा निकै चहलपहल बढेको छ । आन्तरिक पर्यटकको उपस्थिति अधिक रहेको छ । त्यस्तै बाह्य पर्यटक पनि निरन्तर भ्रमणमा आइरहेको उहाँले बताउनुभयो ।
नेपाल–चीन सिमाना टिपताला भन्ज्याङ र ओलाङ्चुङगोलामै रहेको सिँजेमा तालको भ्रमणमा आउने पर्यटकका कारण चहलपहल बढेको हो ।
ओलाङ्चुङगोला बस्ती पनि पर्यटकीय गन्तव्यकै रूपमा छ । ओलाङ्चुङगोलामा रहेको करिब साढे चार सय वर्ष पुरानो मानिएको ऐतिहासिक बौद्धगुम्बा दिकी छ्योलिङ गुम्बाको दर्शन तथा भ्रमण गर्न पर्यटक आउने गरेका छन् ।
पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको सिँजे तालमा पर्यटकको भिड नै लाग्ने गरेको स्थानीयवासीले बताएका छन् । सिँजेमा तालमा दैनिक जसो बाह्य तथा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । त्यस्तै पाँच हजार एक सय मिटर उचाइ रहेको टिपताला भन्ज्याङ क्षेत्रमा पुग्ने पर्यटक पनि बढ्दै गएका छन् । ओलाङ्चुङगोला, मौवाटार हुँदै टिपताला जाने पर्यटक बढ्दै गएका हुन् ।
वडाध्यक्ष शेर्पाका अनुसार आकर्षक हिमशृङ्खला तथा टाकुराहरूको दृश्यावलोकनसँगै टिपताला भ्रमण गर्न सकिने भएकाले पर्यटक आकर्षित हुँदै गएका छन् । यस्तै नाउर (जङ्गली भेडा) लगायतका वन्यजन्तुको प्रत्यक्ष अवलोकन गर्न साथै देख्न पाइने हुँदा यस क्षेत्रको भ्रमण गर्नमा पर्यटक लोभिने गरेका छन् ।
यता पर्यटकको चहलपहलका कारण
ओलाङ्चुङगोलामा रहेका होटल व्यवसायीको आम्दानी पनि बढेको व्यवसायी बताउँछन् । स्थानीय होटल व्यवसायी दावाफुटी शेर्पाले पर्यटकका कारण व्यवसाय राम्रै फस्टाएको बताउनुभयो । उहाँका अनुसार अहिलेको पर्यटकीय मौसममा ओलाङ्चुङगोलाका अधिकांश होटलले राम्रो आम्दानी गरिरहेका छन् । पर्यटकको आगमनसँगै कुनै कुनै दिन पर्यटकको आवास व्यवस्थापन र खाना खुवाउनलाई भ्याइनभ्याइ हुने गरेको व्यवसायीहरू बताउँछन् ।