काठमाडौँ, कात्तिक, १९ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रले नेपालको अर्थतन्त्र अधिकांश समस्या समाधानतर्फ लागेको बताउनुभयो ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह वृद्धि भएको तथा घरजग्गा कारोबार पनि लयमै फर्कंदै गरेको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री महतका अनुसार अर्थतन्त्रका परिसूचक राम्रो हुँदै गएकाले सुधारलाई अझै गति प्रदान गर्न सरोकारवाला तथा आमसमुदायमा आत्मविश्वास वृद्धि आवश्यक रहेको धारणा राख्नुभयो ।
मन्त्री महतले विश्व बैङ्क र एसियाली विकास बैङ्कको आर्थिक प्रक्षेपणले पनि नेपालको आर्थिक वृद्धिदर चार प्रतिशतभन्दा बढी हासिल हुने देखाएको बताउनुभयो ।
“अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको विषयमा चासो बढ्दो छ,” अर्थमन्त्री महतले भन्नुभयो, “विश्व बैङ्क, एडिबीसहित बेलायतलगायत देशका निजी क्षेत्र नेपालप्रति सकारात्मक छन् ।” अर्थतन्त्रमा समस्या एकाएक आएको नभएर वर्षौंदेखि समस्या थपिँदै गएको दाबी गर्नुभयो ।
“पर्यटक आगमन र रेमिट्यान्स बढेको छ । घरजग्गामा एकै पटक धेरै लगानी हुँदा अर्थतन्त्रमा समस्या आएको थियो,” उहाँले भन्नुभयो, “त्यसपछि लगातार घरजग्गाको मूल्य बढ्ने नहुँदा समस्या भयो । बैङ्कको ब्याजदर क्रमशः घट्दै गएको छ, अहिले समाधान भइसकेको छ ।”
कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बाह्य क्षेत्र सबल स्थितिमा रहेको हुँदा त्यसको फाइदा देशले लिन सक्नुपर्ने बताउनुभयो । “साढे १० महिनाको वस्तु तथा सेवाका लागि पर्याप्त सञ्चिति सबल अर्थतन्त्र भएको मुलुकसँग पनि हुँदैन,” उहाँले भन्नुभयो, “बजारलाई नियमन गर्न नसकेकाले महँगी नियन्त्रणमा केही समस्या परेको हो ।”
बजारको माग अनुसार तरलता रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले पछिल्लो त्रैमासिकको वित्तीय विवरण अनुसार बैङ्कको निष्व्रिmय कर्जा बढेको देखिए पनि अन्य देशको तुलनामा कम नै रहेको दाबी गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलङ्काको त्रासबाट आर्थिक र मौद्रिक नीतिमा कडाइ गरिएकाले अर्थतन्त्रमा समस्या आएको आरोप लगाउनुभयो । उहाँले अहिलेको समस्या समाधान गर्न सामान्य नीतिगत सुधारले नहुने भन्दै बृहत् सोचका साथ परिवर्तन आवश्यक रहेको बताउनुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले सञ्चारमाध्यम तथा पत्रकारलाई राजनीतिकभन्दा आर्थिक विषयलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बाह्य क्षेत्रमा अर्थतन्त्र सकारात्मक देखिए पनि आन्तरिक रूपमा चलायमान हुन नसकेको बताउनुभयो ।
१५ औँ वार्षिकोत्सवका अवसरमा तीन आर्थिक पत्रकार पुरस्कृत भएका छन् भने नाफिजको वार्षिक प्रकाशन ‘अर्थचित्र’ जर्नल विमोचन भएको छ । वार्षिकोत्सवका अवसरमा ‘प्लानिङ २.०’ थिममा प्रकाशित वार्षिक जर्नल विमोचन भएको हो ।