• २ जेठ २०८१, बुधबार

समृद्धिको गोरेटो कोर्न सकिन्छ

blog

पाल्पाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये तानसेन एक नगरपालिका हो । यो नेपालकै पुरानो नगरपालिका पनि हो । २००७ सालमै तानसेन नगरपालिका घोषित भएको थियो । तानसेनलाई ऐतिहासिक र पर्यटकीय नगरको रूपमा पनि लिने गरिन्छ । राणाकालअघि पनि पाल्पा पश्चिम नेपालको एउटा प्रमुख प्रशासनिक सहरका रूपमा रहेको थियो । त्यसपछि बिस्तारै विकास र समृद्धिका हिसाबले अग्रपङ्तिमा छ । पछिल्लो पटक २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनपछि तानसेन नगरपालिकाको विषयमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका नगर प्रमुख सन्तोषलाल श्रेष्ठसँग गोरखापत्रका पत्रकार रेखीराम रानाले गर्नुभएको कुराकानी : 

 

नगर प्रमुखमा निर्वाचित भएपछि तपाईंले गरेका उल्लेखनीय काम के–के हुन् ? 

म निर्वाचित भएको एक वर्ष पाँच महिना भयो । यो अवधिमा नगरवासीलाई दिने दैनिक सेवालाई सुधार गरिएको छ । नगरपालिकाबाट प्रवाह हुने दैनिक सेवालाई सर्वसुलभ, छिटोछरितो र पारदर्शी बनाउने प्रयास गरेका छौँ । तानसेन नगरपालिकाले आफ्नो स्रोतबाट गर्न सक्ने काम के हो, त्यसको पहिचान गरेर कामलाई अगाडि बढाउने प्रयास गरेका छौँ । नगरपालिकामा अहिले निर्वाचित जनप्रतिनिधिको निष्कर्ष पर्यटन र कृषिको विकासबाट मात्रै तानसेनको भविष्य छ भन्ने हो । सोही अनुसार अघि बढ्ने काम भएको छ । 

नगरपालिकाको आन्तरिक स्रोतलाई बढाउने काम भएको छ । पहिले विभिन्न तह र तप्काबाट चुहावट भएका आन्तरिक आम्दानीलाई शतप्रतिशत वृद्धि गर्ने गरी काम गरेका छौँ । चौथो कुरा आन्तरिक सुशासनलाई पनि नगरपालिकाले प्राथमिकता दिँदै काम गरेको छ । कर्मचारी व्यवस्थापन र उनीहरूको काम गर्ने मनोविज्ञान एउटै बनाउने गरी निर्णय गरेर अघि बढेका छौँ । यसले हामीलाई काम गर्न सहज भएको छ ।  


स्थानीय तहको शिक्षा र स्वास्थ्यसहितको अधिकारलाई प्रयोग गर्नुभएको छ  ?

स्थानीय तहमा धेरै बेतिथि छन् । त्यसलाई क्रमशः कम गर्दै लैजाने र हाम्रो क्षेत्राधिकारभित्र पर्ने कामको थालनी गरेका छौँ । शिक्षा क्षेत्रलाई अगाडि बढाउन पहिले शिक्षक र विद्यार्थी सङ्ख्याको अनुपात मिलाएर दरबन्दी कायम गर्ने प्रयास गरिएको छ । यतिमात्र होइन, दिवा खाजालगायतमा फर्जी विद्यार्थी देखाएर भएको राज्यको लगानीलाई पारदर्शी बनाउने काम गरेका छौँ । साथै विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई समायोजन तथा कक्षा कटौतीको कामसमेत भएको छ । नगरभित्रका १४ वटा विद्यालयबाट सुरु भएको यो कामले अझ गति लिन्छ र निरन्तरता दिनेछौँ । स्वास्थ्यको क्षेत्रमा पाल्पा अस्पतालको विकासँगै नगरभित्रका स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाउने कार्यमा योजना कार्यान्वयन गरेका छौँ । तानसेनभित्र सहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालन गर्ने तयारी गरेका छौँ । मुख्य कुरा विपन्न नागरिकले सर्वसुलभ रूपमा स्वास्थ्य सेवा निःशुल्क पाउन् भनेर हामीले काम गरिरहेका छौँ । 


भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ ?

तानसेन नगरपालिका पुरानो बजार क्षेत्र र केही ग्रामीण क्षेत्रलाई मिसाएर बनाइएको नगरपालिका हो । चार वटा वडाबाहेक यहाँका अधिकांश वडा ग्रामीण क्षेत्रमा छन् । ग्रामीण क्षेत्रमा भएका वडा र सहरी क्षेत्रमा भएका वडा गरी दुई भागमा विभाजन गरेर नगरको विकासलाई प्राथमिकता दिइएको छ । अहिले पनि गाउँबाट सहज रूपमा बजारसम्म आउन सडक पूर्वाधारको विकास भएको छैन । खानेपानी, विद्युत्लगायतको पूर्वाधार कमजोर छन् । यस्ता कमजोर पूर्वाधारलाई स्तरीय बनाउन नगरपालिका लागेको छ । यस्ता पूर्वाधार निर्माण गर्न सके नगरपालिका आफैँले बजेट हाल्ने, नसके, प्रदेश र सङ्घ सरकारलाई लगानीका लागि अनुरोध गर्ने काम भइरहेको छ । यसबाहेक विभिन्न दातृ निकायसँगको सहकार्यमा पनि पूर्वाधार विकासको काम भइरहेको छ । 


जनताको गुनासो र समस्यालाई कसरी समाधान गर्नुहुन्छ ? 

जनताको गुनासो धेरै छन् । पहिले मानिस काम भएन, ढिलो भयो, कर्मचारीले कामै गरेन भनेर गुनासो गर्थे । नक्सा पासलगायतमा समस्या देखाउँथे तर अहिले ती समस्या समाधान हुँदै गएका छन् । 

तानसेनको खानेपानीको समस्याको बारेमा पनि धेरै गुनासो आउँथ्यो, त्यसलाई पनि समेट्ने प्रयास गरेका छौँ । अहिले नयाँ समितिले काम गरिरहेको छ । कर्मचारीलाई पनि आफ्नो क्षमता अनुसारको काम गर्ने स्थानमा खटाएका छौँ । कसैको गुनासो आए त्यसलाई तत्काल सुनुवाइ गरेर समाधान गर्ने गरेका छौँ । जनताको पीरमर्काबारे मँले जतिबेला पनि समय दिएर सुन्ने गरेको छु । यसले गुनासो कम हुँदै गएको छ भन्ने मलाइ लागेको छ । 


आर्थिक पारदर्शिता र जवाफदेहिताको सम्बोधन गर्नुभएको छ ?

नगरभित्र आर्थिक पारदर्शिता कायम गर्न मैले धेरै नै प्रयास गरेको छु । आर्थिक पारदर्शिता भएन भने कुनै पनि स्थानमा सही काम हुन सक्दैन । मलाई कुनै आर्थिक लोभ छैन, मेरो मातहतमा भएका मानिसले पनि त्यस्तो कुनै आर्थिक अनियमितताको काम नगरून् भन्ने मेरो मान्यता हो । कसैले त्यस्तो गरेको भए कारबाही पनि भएको छ । काम गर्ने हो भने सही नियतले गर्नुपर्छ भन्ने मलाई लागेको छ । नगरको विकासबारेमा विभिन्न समिति तथा उपसमितिलाई क्षेत्राधिकार दिएर काम गर्ने परिपाटीको थालनी गरिएको छ । नगर प्रमुख एक्लैले काम गर्ने होइन कि टिममा काम गर्नुपर्छ भन्ने मान्यताले काम गरेको छु ।


अन्त्यमा, तानसेन नगरपालिकाको समृद्धि सम्भव छ ? 

तानसेन नगरपालिकालाई मुख्य गरी पर्यटन र कृषिको माध्यमबाट अगाडि बढाउनुपर्छ भन्ने मेरो निष्कर्ष हो । पर्यटनबाट र कृषि विकासको माध्यमबाट यहाँका नागरिकले समृद्धि हासिल गर्न सक्छन् भन्ने हामीलाई लागेको छ । अहिले नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग मिलेर काम गरिरहेको छ । पाल्पा दरबार, रानीमहल, नारायणस्थान, भगवतीस्थान, श्रीनगरडाँडा हाम्रा प्रमुख पर्यटकीय क्षेत्र हुन् । तिनको विकासका लागि हामीले विभिन्न निकायसँग मिलेर काम गरिरहेका छौँ । यसले पर्यटन क्षेत्रमा केही सकारात्मक पहल भएका छन् । कृषि क्षेत्रको विकासका लागि किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाएका छौँ । हुनतः पाँच वर्षमा धेरै काम गर्न सकिन्छ जस्तो लाग्दैन तर तानसेनको समृद्धिको गोरेटो कोर्न सकिन्छ भन्ने अर्जुनदृष्टि बनाएर अघि बढेका छौँ । यसका लागि सबै नगरवासीको सहयोगको अपेक्षा गरेका छौँ ।