• १ जेठ २०८१, मङ्गलबार

प्लास्टिक माला प्रतिबन्ध

blog

घोराही समाचारदाता 

घोराही, कात्तिक १९ गते । दाङका चार स्थानीय तहले प्लास्टिक मालालाई प्रतिबन्ध लगाउँदै प्राकृतिक फूलमाला प्रयोग गर्न आग्रह गरेका छन् । स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहित गर्न तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले चाडपर्वसँगै कार्यक्रममा प्लास्टिकका फूलका मालालाई प्रयोग नगर्न आग्रह गरेका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये तुलसीपुरले सबैभन्दा पहिले असोज २३ गते सार्वजनिक सूचना प्रकाशित गरेर प्लास्टिक माला प्रयोगलाई प्रतिबन्ध गरेको हो । तुलसीपुर उपमहानगरपालिकाले प्लास्टिकका माला बिक्री तथा भण्डारण गर्न नपाइने र त्यसो गरेको पाइएमा कारबाही गर्नेसमेत चेतावनी दिएको छ। 

लमही नगरपालिकाले पनि कात्तिकको ११ गते सूचना जारी गर्दै प्लास्टिकका माला प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ ।  लमही नगरपालिका प्रमुख जोगराज चौधरीले वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्ने र स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने भएका कारण पालिकाले प्लास्टिक मालालाई प्रतिबन्ध गरेको बताउनुभयो । 

स्थानीय तहको निर्णयसँगै व्यावसायिक फूल खेती गर्दै आएका किसानले सकारात्मक रूपमा लिएका छन् । घोराही उपमहानगरपालिका–१४ का पुष्प व्यवसायी लोकेन्द्र रोकामगरले स्थानीय सरकारको निर्णयले आफूहरूलाई उत्साहित बनाएको बताउनुभयो। जिल्लाका विभिन्न स्थानमा करिब २४ बिघा क्षेत्रफलमा व्यावसायिक फूल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र दाङका अधिकृत देवा महराले जानकारी दिनुभएको छ । उहाँले पछिल्लो समय पुष्प व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा पुष्प व्यवसाय गर्ने किसानको सङ्ख्यासमेत बढ्दै गएको बताउनुभयो।