बैतडी समाचारदाता
बैतडी, कात्तिक १९ गते । दसैँको बिदा सकिएपछि जिल्ला प्रशासन कार्यालय बैतडीमा नागरिकता लिने सेवाग्राहीको भिड बढेको छ । यसअघि दैनिक ३०/४० जनाले नागरिकता लिने गरेकोमा दसैँ बिदापछि दैनिक दुई सय जनाले नागरिकता लिइरहेका छन् । दसैँ बिदा सकिएको भोलिपल्ट आइतबारदेखि प्रशासन कार्यालयमा सेवाग्राहीको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताउनुभयो ।
नागरिकता लिनेको सङ्ख्या बढेपछि कार्यालय समय सकिएपछि पनि नागरिकता वितरण भइरहेको सूचना अधिकारी शङ्कर बोहराले बताउनुभयो । दसैँको समयमा जिल्लाबाहिर रहेका घर फर्केका बेला नागरिकता लिनका लागि पुग्ने भएकाले सेवाग्राहीको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।
दसैँमा घर आएका बेला छोराछोरीको नागरिकता बनाउन आएको सेवाग्राही पवनकुमार भट्टले बताउनुभयो । बैतडी घर भई पूर्वको विराटनगरमा कार्यरत भट्टले दसैँमा घर आएको मौकाको सदुपयोग गरेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको सङ्ख्या बढेपछि कार्यालय समयभन्दा पछि पनि सेवा प्रदान भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । सेवा लिनका लागि कार्यालयमा पुगेका सेवाग्राहीलाई कुनै समस्या नहोस् भनेर कार्यालय समयपछि पनि काम गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता प्रदान गर्नुका साथै राहदानी, राष्ट्रिय परिचयपत्र र अन्य सिफारिससमेत प्रदान गर्दै आएको छ ।