• १३ मंसिर २०८१, बिहिबार

स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली प्रभावित क्षेत्र प्रस्थान

blog

सुदूरपश्चिमबाट भूकम्प प्रभावित क्षेत्रतर्फ जाँदै चिकित्सक टोली । तस्बिर : भावना जोशी

भावना जोशी 

अत्तरिया, कात्तिक १८ गते । भूकम्पपीडित घाइतेहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्यकर्मीहरूको टोली घटनास्थलतर्फ आज प्रस्थान गरेको छ । 

घाइतेको औषधि उपचारका लागि चार लाखको औषधिसहित चार जना विशेषज्ञ चिकित्सकसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले जानकारी दिनुभयो । 

उहाँले आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताउनुभयो । ‘चिकित्सकको आवश्यकता हुने बित्तिकै हामीले पठाउनेगरी तयारी अवस्थामा राखेका छौँ’ मन्त्री साउदले भन्नुभयो । 

जाजरकोट र रुकुमपश्चिममा शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म करिब १५७ ले ज्यान गुमाइसकेका छन् । सयौँ घाइते भएका छन् । शनिबार आकस्मिक बसेको सुदूरपश्चिम सरकारको मन्त्री परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहायता पुग्नेगरी एक करोड रुपियाँ र स्वास्थ्य सामग्रीसहित २० जना स्वास्थ्यकर्मीको टोली आजै प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको थियो । 

कर्णालीको जाजरकोटको बगरकोट गाउँपालिका –१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ः४७ मा आएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा ठुलो मात्रामा मानवीय र भौतिक क्षति भएको छ ।