• १२ साउन २०८१, शनिबार

भूकम्पका घाइतेका लागि ८० पिन्ट रगत सङ्कलन

blog

घाइतेको उपचारका लागि रगत सङ्कलन गर्न आयोजना गरिएको खुला रक्तदान । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक १८ गते । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका घाइतेको उपचारका लागि नेपालगन्जमा ८० पिन्ट रगत सङ्कलन भएको छ ।  

गम्भीर घाइते भएकालाई नेपालगन्जस्थित भेरी अस्पताललगायत विभिन्न अस्पतालमा ल्याउन सुरु गरिएकाले रगतको अभाव हुन नदिन खुला रक्तदान कार्यक्रम सुरु गरिएको हो । 

नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्धिकीले दिनुभएको जानकारीअनुसार नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रमा १५८ पिन्ट रगत मौज्दात रहे पनि इमरजेन्सी अवस्थाका लागि थप मौज्दात गर्न रगत सङ्कलन सुरु गरिएको हो । 

सिद्धिकीले भेरी अस्पताल परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा सुरु गरिएको खुला रक्तदानमा शनिबार ८० जनाले रक्तदान गरेर ८० पिन्ट रगत सङ्कलन भइसकेको र अझै रक्तदान जारी रहेको बताउनुभयो । उहाँले बढीभन्दा बढी रगत सङ्कलन गर्न यो अभियानलाई आइतबार दिनभरि जारी राखिने बताउनुभयो । 

समाजसेवी मीन मल्लले घाइतेको उपचारका लागि रगत आवश्यक पर्न सक्ने जनाइ सर्वसाधारणलाई खुला रक्तदानमा सहभागी हुन गरिएको आग्रह बमोजिम ठुलो सङ्ख्यामा रगत दिन स्थानीय युवा रक्त सञ्चार केन्द्रमा पुगेको बताउनुभयो । 

उहाँले अहिलेसम्म धेरै रगतको आवश्यकता नपरे पनि उल्लेख्य परिमाणमा रगतको मौज्दात राख्न खुला रक्तदान जारी राखिएको बताउनुभयो ।