फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक १८ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजधानीदेखि स्थानीय तहसम्म कांग्रेस सरकारमा सहभागी भएपनि नेता, कार्यकर्ता निराश रहेको बताउनुभएको छ ।
शनिबार बिहान पोखराका पत्रकारमाझ उहाँले तीन तहकै सरकारमा हुँदा पनि निराश हुनु उदेकलाग्दो भएको उहाँले टिप्पणी गर्नुभयो । “सबैतिर हामी सरकारमा छौँ । केही समयपछि सङ्घ सरकारको नेतृत्व पनि हाम्रै हुनेछ । सबैभन्दा दुःखी हामी नै छौँ किन ?” उहाँले जिज्ञासा गर्नुभयो ।
महामन्त्री थापाले भन्नुभयो, “आठ लाख ६६ हजार कार्यकर्ता भएको देशको सबैभदा पुरानो र सबैभन्दा ठुलो पार्टी काङ्ग्रेसलाई युगसापेक्ष बनाउन केही वैधानिक प्रावधान नै बदल्नुपर्छ ।”
निर्वाचनमा टिकट बाँड्ने प्रक्रिया, पार्टी सदस्यता वितरण प्रक्रिया, आर्थिक पारदर्शिता र निर्णय प्रक्रिया बदल्नु पर्ने उहाँको भनाइ छ । कोशी प्रदेशमा फरक गठबन्धनबाट सरकार बनेकोतर्फ इङ्गित गर्दै उहाँले त्यसको समाधान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाले निकाल्नुपर्छ भन्नुभयो ।
नेपालका दलहरूमा गठबन्धन सरकार सञ्चालन गर्ने संस्कार नै बस्न बाँकी रहेको जनाउँदै उहाँले चुनावअघिको गठबन्धन काङ्ग्रेसका लागि घातक बनेको दाबी गर्नुभयो । “म जहाँ जहाँ पुगेँ, सबैतिर चुनावअघि गठबन्धन गर्नु हुन्न भन्ने आएको छ । निर्वाचनपछि सरकार बनाउन गठबन्धन सामान्य रहे पनि निर्वाचनकै बेला गठबन्धन गर्नै हुँदैन” उहाँले भन्नुभयो ।
कोरोना कहरका बेला प्रदेश सरकार चुकेको टिप्पणी गर्दै उहाँले शुक्रबार राति आएको भूकम्पमा जनतालाई सरकारको आभास दिलाउन आग्रह गर्नुभयो । अहिलेको भूकम्पले भविष्यमा हुन सक्ने क्षतिको सङ्केत गरेको जनाउँदै उहाँले यसलाई पाठको रूपमा लिएर पुनर्निर्माण र योजना बनाउनु पर्नेमा जोड दिनुभयो ।