• ४ जेठ २०८१, शुक्रबार

भूकम्प पीडितको उद्धार कार्यमा युद्धस्तरमा लागौँ : पूर्व प्रधानमन्त्री खनाल

blog

काठमाडौं, कात्तिक १८ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भूकम्प पीडितको उद्धार कार्यमा युद्धस्तरमा लाग्नुपर्ने बताउनुभएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्नुहुँदै उहाँले शुक्रबार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर  गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परि सयौँ जनाको मृत्यु तथा घाइते भएको अप्रत्याशित खबरले दुखित बनाएको बताउनुभयो ।

भूकम्पमा जाजरकोट, रुकुम लगायतका क्षेत्रमा ठुलो मात्रामा जन र धनको नोक्सानी भएको भन्नुहुँदै उहाँले तीनै तहका सरकार, सबै राजनीतिक पार्टी, सामाजिक सङ्घ–संस्थाहरू सक्रिय हुनुपर्ने, घटनाक्रम र तथ्यको सङ्कलन गर्दै जनताको उद्धार कार्यमा एक मिनेट पनि ढिलो नगर्न सबेको अत्यन्त जरुरी कार्यभार बनेको बताउनुभएको छ । 

उहाँले सम्पूर्ण प्रशासनिक निकायहरू तुरुन्त परिचालन गर्न, साधन स्रोतहरू जुटाउन, उद्धार सामग्रीहरूको बन्दोबस्त गर्न र  मृत्यु भएका र आपतमा परेका जनतालाई तत्काल राहत र उद्धार उपलब्ध गराउन तथा यस विपद्बाट जनतालाई सामाजिक–आर्थिक रूपले पनि मुक्त पार्न आवश्यक भौतिक सहयोग गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ ।