• ४ जेठ २०८१, शुक्रबार

भूकम्पपीडितका लागि एकसय ५० बोरा चामल सङ्कलन

blog

माओवादी केन्द्र कोहलपुर नगर समितिको बैठक । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक १८ गते । गएराति जाजरकोट र रुकुममा गएको भूकम्पबाट पीडित परिवारलाई राहत प्रदान गर्न नेकपा (माओवादी केन्द्र) कोहलपुर नगरसमितिले आज शनिबार बिहान एकसय ५० बोरा चामल सङ्कलन गरेको छ ।

माओवादी केन्द्र कोहलपुर नगरसमितिको बैठक बसी उक्त राहत सङ्कलन गरेको कोहलपुर नगरअध्यक्ष अबराज खड्काले जानकारी दिनुभयो । नगर समितिको बैठकले भूकम्पपीडितका लागि राहत र उद्धार कार्यमा यथाशीघ्र लाग्न नगरका सबै वडालाई निर्देशन गरिएको र वडा समितिहरू तत्काल राहत सङ्कलनमा जुटिसकेको नगर अध्यक्ष खड्काले बताउनुभयो ।

अध्यक्ष खड्काका अनुसार कोहलपुर नगरपालिका –३ मा कोहलपुर पार्टीका नगर सल्लाहकार पदम केसीको पहलमा ६० बोरा चामल सङ्कलन भएको जानकारी दिनुभयो । नगर सल्लाहकार पदम केसीले ३० बोरा, कोहलपुर ३ का सङ्गीता केसी अध्यक्ष रहेको दिदीबहिनी समूहले १० बोरा, राजेश भारतीले १० बोरा, इन्दिरा भारतीले १० बोरा, देवी गौतमले ७ किलो दाल र शरण केसीले २ पेटी तेलसहित खाद्यान्न सङ्कलन भएको नगर अध्यक्ष खड्काले जानकारी दिनुभयो । 

भूकम्पबाट ठुलो मात्रामा धनजनको क्षति भएको समाचार बाहिर आएपछि माओवादी केन्द्रले पार्टी पत्तिलाई राहत तथा उद्धारमा लाग्न विज्ञप्तिमार्फत अपिल गरेको छ । पार्टीले गरेको अपिलअनुसार कोहलपुर नगरको बैठक बसी राहत सङ्कलनमा जुट्न सबैलाई परिचालन गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

सङ्कलन कार्य अझै जारी राखिने र सङ्कलन गरिएको राहत सामग्रीलाई सरोकारवाला निकायसँग समन्वय गरी एकमुष्ट राहत हस्तान्तरण गरिने नगर अध्यक्ष खड्काले बताउनुभयो ।