गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १८ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धारमा परिचालित हुन पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।
अध्यक्ष ओलीले शनिबार सो आह्वान गर्नुभएको हो । घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिन आग्रह गर्दै विशेषगरी सुर्खेत, नेपालगन्ज, काठमाडौँका पार्टीका कमिटीहरू परिचालित हुन उहाँले निर्देशन दिनुभएको हो ।
भूकम्पमा ज्यान गुमाउनु भएकाहरूप्रति अध्यक्ष ओलीले श्रद्धाञ्जली व्यक्त गर्दै शोकको यस घडीमा पार्टीको तर्फबाट आयोजना हुने शुभकामना आदानप्रदान तथा उत्सवसम्बन्धी सबै कार्यक्रम स्थगित गर्न उहाँले आग्रह गर्नुभएको छ ।
यसैगरी महासचिव शङ्कर पोखरेलले भूकम्पबाट पीडितहरूको जीवनरक्षाका लागि यथाशीघ्र उद्धार, उपचारमा जुट्न सरकारको ध्यानाकर्षण गराउँदै पार्टी पङ्क्तिलाई राहत, उद्धार र रक्त सङ्कलनमा जुटन् आग्रह गर्नुभएको छ ।
एमाले नेता तथा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितको तत्काल उद्धार गरी सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न, राहत उपलब्ध गराउन तथा घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
पार्टीको तर्फबाट विज्ञप्ति जारी गर्नुहुँदै नेता गौतमले भूकम्पपीडित जिल्लाका पार्टी नेता, कार्यकर्ता सबैलाई उद्धार कार्यमा जुट्न आग्रह गर्नुभएको छ । जाजरकोटमा गए राति ११ः४७ बजे भूकम्प जाँदा ठुलो जनधनको क्षति भएको छ ।