• २१ असार २०८१, शुक्रबार

प्रदेश सरकारले राहत र चिकित्सक टोली पठायो

blog

भूकम्प प्रभावित स्थलमा कर्णाली प्रदेश सरकारका तर्फबाट राहत उपठाइँदै । तस्बिर सौजन्यः आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवालय

ललित बसेल

सुर्खेत, कात्तिक १८ गते । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा गैरखाद्य सामग्री र चिकित्सक टोली पठाएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सेनाको टोली र जाजरकोटमा अप्रेसन गर्ने चिकित्सक टोली प्रदेश सरकारले शनिबार बिहान पठाएको हो । 

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले अहिले उद्धारलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । उहाँले गैरखाद्य सामग्रीका साथै अप्रेसन गर्ने चिकित्सकको टोली पनि प्रदेश सरकारको तर्फबाट पठाइएको जानकारी दिनुभयो । 

अन्य राहतका सामग्रीहरू पनि सुर्खेत विमानस्थलमा तैनाथ अवस्थामा राखिएको जानकारी दिदैं उहाँले लगत्तै पठाइने बताउनुभयो । यसैगरी भूकम्पमा परी घाइतेको उपचार प्रदेश सरकारले गर्ने पनि मन्त्री जिसीले बताउनुभयो । 

उहाँले उद्धार तथा राहत पठाउने काम जारी राखिएको र घाइतेको उपचार प्रदेश सरकारले गर्ने जानकारी दिनुभयो । प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री राजकुमार शर्मा, आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह पनि प्रभावित जिल्ला पुग्नुभएको छ । 

यस्तै, प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक बसी तत्काल राहत र उद्धार, कमाण्ड पोष्ट स्थापना, जनशक्ति परिचालन तथा विषम परिस्थितिमा सहयोग गर्न सम्पूर्ण सरकारी, गैरसरकारी सङ्घ संस्था, राजनीतिक दल, आमसञ्चार माध्यम, नागरिक समाजसँग आग्रह गरिएको छ । साथै, प्राकृतिक विपद्को घडीमा सबै एकजुट भएर सामना गर्न पनि मन्त्री जिसीले अपिल गर्नुभयो ।