• १२ साउन २०८१, शनिबार

भूकम्प अपडेट : नेपालगन्जमा घाइतेको उपचार गरिँदै

blog

नेपालगञ्ज,   कात्तिक १८ गते ।  गएराति गएको भूकम्पका कारण घाइते भएकाहरूको बाँकेको नेपालगन्जमा उपचार थालिएको छ । उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगन्जमा भर्ना गरिएको छ । 

भेरी अस्पतालमा फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भूकम्पमा परी घाइते भएका जाजरकोटको भेरी नगरपालिका–३ का ४८ वर्षीय विमलबहादुर कार्की र भेरी–३ की २२ वर्षीया इसा शाहीको उपचार भइरहेको छ । कार्कीको दाहिने खुट्टा भाँचिएको छ भने शाहीको टाउकोमा चोट लागेको छ । दुवैको अवस्था सामान्य भएको उहाँले बताउनुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच शय्या घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । हेलिकप्टरमा उद्धार गरिने घाइतेका लागि राझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । भूकम्पबाट घाइते भएका अन्यलाई उपचारका लागि यहाँ ल्याउने क्रम जारी छ । 

गएराति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भई ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट  र रुकुम पश्चिममा अत्यधिक धनजनको क्षति भएको छ ।  रासस