अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक १६ गते । २०६२ फागुनमा स्याङ्जाको जौबारीबाट तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएर बेपत्ता पारेका दिलबहादुर थापा आउने आश परिवारका सदस्यले अझै मारेका छैनन् ।
पाँच सन्तानमध्येका कान्छो दिलबहादुर डेढ वर्षको हुँदा श्रीमतीले घर छाडेर हिडेपछि इन्द्रबहादुर थापाले दुई छोरी र तीन छोरा हुर्काउनुभएको थियो । कान्छो छोरा तत्कालीन माओवादीमा भूमिगत हुने भनेर गएपछि छोराको सँधै खोजी गरे पनि उपलब्धी हात लागेन । मंगला गाउँपालिका –३ पखेरका थापाले आफ्नो छोराको खोजी धेरै ठाउँमा गर्नुभए पनि न लाश भेटियो न त जीवित रहेको जानकारी नै ।
कान्छो छोराको पर्खाइमा इन्द्रबहादुरको गत असारमा मृत्यु भयो । भाइ आउँछकी भन्ने आश गर्नु हुन्थ्यो बाबाले । तर न भाइ आयो न ऊ कहाँ छ भनेर केही जानकारी पाइयो । आशैआशमा बाबाको मृत्यु भयो, वीरेन्द्र थापा मगरले भन्नुभयो ।
म जेठो छोरा हो, माइलो कर्णबहादुर र कान्छो दिलबहादुर हो । ऊ त्यस्तै १४ वर्षको हुँदा माओवादीमा लागेर गयो तर फर्केर कहिल्यै आएन उहाँले सुनाउनुभयो । २०६२ फागुन २ गते स्याङजाबाट सेनाले नियन्त्रणमा लिएको भनेर इन्सेकको तथ्याङमार्फत जानकारी पाएको हो । तर अहिलेसम्म कुनै पनि अत्तोपत्तो छैन वीरेन्द्रले भन्नुभयो ।
दुई छोरीपछि तीन छोरा जन्माएकी मनकुमारी थापाले कान्छो छोरो त्यस्तै १८ महिनाको हुँदा छाडेर जानुभएको भन्नुभयो, दिलबहादुरका माइलो दाजु कर्णबहादुर । उहाँले भन्नुभयो, “एकल पुरुषले ५ सन्तान हुर्काउनु भएका बाबाको पनि गत असार ६ गते मृत्युभयो । बाबाको एउटै आशा थियो भाइको खबर थाहा पाउने तर त्यो उहाँको भाग्यमा रहेनछ ।”
देवरलाई यहीका छिमेकीले लगेर गएका हुन् तर उनी फर्के देवर भने आउनु भएन, दिलबहादुरकी जेठी भाउजुले भन्नुभयो । म्याग्दी खोलामा संगै गएर माछा मार्ने साथी थियो उसैले देवरलाई लिएर गयो ऊ त जोगिएछ तर देवरलाइ सेनालाई बुझाएछ, भाउजु मिना थापाले भन्नुभयो ।