यदुप्रसाद भट्ट
मनाङ, कात्तिक १६ गते । चाडपर्व आउँदा होस् वा पाँच/सात दिन बिदा भयो भने कतै घुम्न जान पाए हुन्थ्यो भन्ने कुराले नेपालीलाई तानेकै छ ।नेपालीहरुमा पाँच दिनको प्याकेजमा महँगो शुल्क तिरेर थाइल्यान्ड जानुको सट्टा आफ्नै देशका पर्यटकीय तथा धार्मिक स्थलहरुको भ्रमण गर्ने प्रचलन बढ्दै गएको पाइएको छ । नेपालीहरुले हिजोआज बिदाको समयलाई पूर्णरुपमा भ्रमणमा सदूपयोग गरिरहेका छन् ।
दसैं र तिहारजस्ता चाडपर्व आउँदा सहरबजारबाट गाउँघर जाने त पुरानै चलन हो । तर मनाङको हकमा भने यो सन्दर्भ अलि फरक छ । जब चाडपर्व आउँछन् तब प्रायः मनाङी सहरबाट गाउँ जाँदैनन् । बरु गाउँबाट सहर पस्छन् । जिल्लामा कार्यरत कर्मचारी त बिदामा आफ्नो घर जाने नै भए । अधिकांश मनाङीको घर लमजुङको बेँसीसहर, पोखरा तथा काठमाडौंलगायतका सहरमा छ । धेरैजसो मनाङी काठमाडौंमा बस्छन् । आफ्ना सन्तान विदेश भएका र सहरमा बसेर अध्ययन गरेकाहरुको चाडपर्व गाउँ नभई सहरमै बित्ने गरेको छ ।
चाडपर्व तथा बिदाका दिनमा मनाङीहरु सहरतिर घुमिरहँदा देशविदेशबाट आउनेहरु पर्यटकहरुले भने आफ्नो भ्रमणका लागि मनाङलाई गन्तव्य बनाएका छन् । कोरोनाकालमा ठप्प रहेको भ्रमण संस्कृति हिजोआज ह्वात्तै बढेको छ । विगतको तुलनामा आन्तरिक पर्यटक बढ्नुले नेपालीमा भ्रमण तथा अवलोकनमा निस्कने प्रचलन बढेको नासोँ गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामा बताउनुहुन्छ । दशैंतिहारको बिदामा दैनिक रूपमा मनाङ आउने पर्यटक ह्वात्तै बढेको उहाँको भनाइ छ ।
गोरखाबाट काठमाडौं आएर होटल व्यवसाय गरेका नीलप्रसाद पोखरेलको परिवारले पनि चाडपर्वका बेला बिदाको मौका छोपेर आन्तरिक पर्यटनलाई बढावा दिने हेतुले विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालको भ्रमणमा निस्कियो । बाटाभरि मान्छेको भीड देख्दा खान बस्न नपाइने चिन्ताले सताएको पोखरेल बताउनुहुन्छ । तर मनाङका होटल व्यवसायीले मिलाएको बन्दोबस्त तथा सत्कारले प्रफुल्ल बनाएको पोखरेल बताउनुहुन्छ ।
होटल व्यवसायी बाबुराम तामाङ पर्यटक आगमन हुँदा रात परेको थाहै नपाएको र काम गर्न भ्याई नभ्याई भएको बताउनुहुन्छ । ‘‘हामीलाई भ्याई नभ्याई भएको छ, पर्यटकको स्वागतमा नै व्यस्त हुँदा खुशी छाएको छ,’’ उहाँले भन्नुभयो । अहिले मनाङका सबैजसो होटल भरिभराउ छन् । दसैंको बिदामा दैनिक रूपमा एक हजार पाँच सय जति पर्यटक मनाङ घुम्न आउने गरेका तामाङले बताउनुभयो ।
बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको आगमनले दुई वर्ष कोभिडले थलिएको व्यापारमा उत्साह थपिएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । ‘‘यस वर्ष मनाङ पर्यटकीय स्थल हो भनेर आभास भएको छ, नत्र दुई वर्ष त सिजनमा पनि सुनसान भएको थियो, यस वर्ष आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकको आगमन बढेको छ’’ उहाँले भन्नुभयो । विगतमा बाह्य पर्यटकको मात्रै आगमन हुने यस सिजनमा यस वर्ष भने आन्तरिक पर्यटकको पनि उल्लासमय आगमन भइरहेको गुरुङले बताउनुभयो ।
नीलप्रसाद पोखरेल त केवल एक प्रतिनिधि पात्र हो । उहाँ जस्ताको समूह दैनिक रुपमा मनाङ पुग्ने गरेको छ । काठमाडौंका कुमार श्रेष्ठको टोली, चितवनका हरि सापकोटा टोलीले पनि बिदाको समय मिलाएर मनाङ भ्रमण गरिसकेको छ ।