• २२ वैशाख २०८१, शनिबार

अर्जुनचौपारीमा प्रदेशकै पहिलो कर सहायता कक्ष

blog

पालिकामा स्थापना गरिएको कर सहायता कक्षमा करको बारेमा फोकल ब्यात्तिसँग बुझ्दै करदाता । तस्बिर: अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक १६ गते । अर्जुनचौपारी गाउँपालिकामा गण्डकी प्रदेशमै  पहिलो पटक कर सहायता कक्षको स्थापना गरिएको छ । पालिका भित्रका नागरिकका कर सम्बन्धी समस्यालाई सहायता गर्ने उद्देश्यले करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा पालिकामा सहायता कक्षको स्थापना गरिएको हो । 

गाउँपालिकामा करदाता र कर कार्यालय जोड्ने फोकल व्यक्तिको रूपमा गाउँपालिकाकै आलेप कर्मचारी अस्मिता रेग्मीलाई पालिकाले तोकेको छ । कर सहायता कक्ष र फोकल ब्याक्ति पालिका स्तरमा कर सम्बन्धी चेतना दिने, प्राविधिक रूपमा करदातालाई सहयोग गर्ने, करदाता सेवा कार्यालयसँग समन्वय गर्नेछ । 

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकामा सहायता कक्षको सहयोगमा पालिकाबाटै सुविधाहरू दिने सके जनमैत्री सेवा प्रवाह हुने र करको बारेमा गुनासो घट्ने बताउनुभयो । कर प्रशासनलाई जनमैत्री र प्रविधिमैत्री बनाउने भनेर पटक पटक भनिँदै आए पनि जनतामा वित्तीय र डिजिटल साक्षरता अझै न्यून रहेको तिवारीको भनाई थियो । 

करदाता सेवा कार्यालय स्याङ्जाका कर अधिकृत विजय भुसालले ३० लाख सम्मको कारोबार गर्ने करदाताको कर चुक्ता प्रमाणपत्र निकाल्ने, युजर आइडी पासवर्ड बनाउने, व्यक्तिगत पानको फर्म भर्ने जस्ता घरबाटै हुन सक्ने काममा कर सहायता कक्ष फलदायी हुने बताउनुभयो । 

सामान्य कर चेतनाको कमीले बिल बिजक जारी गर्ने, लेखा अद्यावधिक राख्ने जस्ता कामहरू पनि व्यवसायीले गर्न नसकेको अवस्थामा पालिकामा स्थापना गरेको कर सहायता कक्ष करदाताको लागि भगवान् बन्ने भुसालले जनता अझै पनि कर प्रशासनसँग त्रसित हुने गरेको बताउनुभयो । 

जनता र प्रशासन बिचको त्रासलाई अन्त्य गर्न समय समयमा कर शिक्षा दिँदै आएको बताउँदै भुसालले दूरदराजमा पुगी कर शिक्षा दिनु स्रोतको हिसाबले चुनौती रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत आशिष् शर्माले टाढा टाढाका पालिकाहरूबाट सदरमुकाम सम्म खर्च गरेर पुग्नु पर्ने र व्यवसायीबाट ठगिने करदाताको बाध्यतालाई कर सहायता कक्षले अन्त्य गर्ने बताउनुभयो । 

पालिका भित्रका करदाता पालिकाको कर सहायता कक्षमा आएपछि एकै चोटीमा कर सेवा कार्यालयमा काम हुने गरी पठाउने शर्माले बताउनुभयो । कर सहयोग कक्ष करदाताको लागि अधिकार नभई सहज बनाउन स्थापना गरिएको हो । 

यस अघि पालिकाले पालिका भित्रका ७० वटा आमा समूहको पालिकाको पहलमा न्यूनतम महसुलमा अडिट र कर चुक्ताको लागि आवश्यक सहयोग गरेको थियो । पालिकाले तोकेको फोकल व्यक्तिलाई आवश्यक तालिम करदाता सेवा कार्यालयले दिनेछ । 

करदाता सेवा कार्यालय स्याङ्जाले देशमै पहिलो भएको बताए पनि गण्डकी प्रदेशको पहिलो पटक अर्जुन चौपारिमा प्रयास गरेको र यस पश्चात् जिल्लाका अन्य पालिकामा समेत सुरुवात गर्ने तयारी गरेको छ ।