• २२ वैशाख २०८१, शनिबार

नवलपुरमा दुई करोडको लगानीमा सिनेमा हल

blog

मीना कँडेल

कावासोती, कात्तिक १६ गते । पूर्वी नवलपरासी जिल्लामा सिनेमा हल सञ्चालन हुने भएको छ । कावासोतीमा यसअघि सञ्चालनमा रहेको गणपति फिल्म हलमै सुविधासम्पन्न सिनेम्याक्स सञ्चालनको तयारी गरिएको छ ।

चलचित्र हेर्नका लागि नारायणगढ, बुटवल जानुपर्ने यहाँका दर्शकका लागि यहाँको हल सञ्चालनमा आउने भएपछि यस क्षेत्रका दर्शक चलचित्र हेर्नैका लागि टाढा जानुपर्ने बाध्यता हट्ने छ । पुरानो हललाई व्यवस्थित र सुविधासम्पन्न रूपमा परिमार्जन गरी सञ्चालनको तयारी गरिएको सञ्चालक भरत मल्लले बताउनुभयो । तिहारअगाडिबाट नै फिल्म सञ्चालन हुने सञ्चालक मल्लले बताउनुभयो । कावासोती सिनेम्याक्समा दैनिक बिहानदेखि रात्रि सोसमेत सञ्चालन हुने छन् । सबैलाई आफ्नो समयानुकूल फिल्म हेर्ने वातावरण मिलाउने गरी सो सञ्चालन गरिने मल्लले बताउनुभयो ।

कावासोतीका दर्शकले काठमाडौँमा रिलिज हुने फिल्म सोही दिन यहीँबाट हेर्न पाउने छन् । कावासोतीमा सञ्चालन हुन लागेको हल उच्च प्रविधिमैत्री हुने छ । आरामदायी सिट, ठुलो पर्दा, पार्किङको सुविधा, क्याफेसहित हल सञ्चालन हुन लागेको हो । करिब २२५ सिट क्षमताको हलमा दुई वटा विशेष क्याबिन कक्षसमेत रहने छन् । जसमा करिब ३० सिट क्षमता रहने छ ।

एउटै पनि सिनेमा हल सञ्चालनमा आउन नसकिरहेको अवस्थामा कावासोतीमा रहेको गणपति चलचित्र हल नामले चिनिएको पुरानो सिनेमा हललाई मर्मत गरी सिनेम्याक्सको नाममा यही तिहारअगाडिबाट सञ्चालनमा आउने भएको हो ।