• ८ मंसिर २०८१, शनिबार

देवी दराइली (कथा)

blog

यो प्राचीन कथा या दन्त्यकथा होइन ।

दराइलीका तीन जना दिदी बहिनी थिए । उसकी आमा मरेपछि जेठी दिदीलाई बुवाले काठमाडौँका एक जना धनी मान्छेलाई दिए । कान्छीलाई घरेलु कामदार बनाउन प्रधानपञ्चकी नातिनीले मधेसतिर लगिन् । दराइली अलिक सोझी र लुरुलुरु टेर्ने भएकाले यसो भातपानी गर्न बाउले आफैँसँग राखे । 

दराइली १५ वर्षकी हुँदा बुवा कोरोनाले मरे । दराइलीका बुवा ओछ्यानमै मरेका थिए । बुवा मरेपछि तुरुन्तै लास उठ्न सकेन । सदरमुकामबाट मान्छे ल्याउन्जेल दुई रातसम्म मरेका बुवाको छेउमा ऊ एक्लै सुतेकी थिई । तेस्रो दिन लास उठाउन आर्मीका लाम आए । आर्मीहरू शिरदेखि पाउसम्म निला लुगा लगाएर मुर्कुटा जस्ता देखिएका थिए । ओछ्यानमा सुतिरहेका बुवालाई मुर्कुट्टै जस्तो बनाएर पोको पारेर लगे । 

दराइली एक्लै भई ।

दराइलीले बुवालाई लगेको दलानबाटै हेरेकी थिई । अब बुवा आउँदेनन् भनेर रुन पनि सकिन । छरछिमेकी परपर थिए । उनीहरूलाई टाढैबाट हेरी ।

कहिलेकाहीँ बुवा कतैबाट ढिलो आउँदा आगोको छेउमा बसेकी हुन्थी । आगोमा भगवान् हुन्छन् भनेर बुवाले भनेका थिए । आगोको छेउमा भूत आउँदैन पनि भनेका थिए ।

बुवाले भनेको कुरा पत्याउन खोजे पनि दराइलीलाई खुब डर लाग्यो । त्यसरी मलाई किन पोको पारेका भनेर बुवाले हकार्छन् कि जस्तो लाग्यो । ती मुर्कुटा जस्ता मान्छे आएर मलाई पनि पोको पारेर लैजान्छन् कि भनेर दराइली एक्लै तर्सी र बाहिरतिर हेरी । सन्नाटा थियो । 

आँगनको छेउमा अग्लो रुख भएर बुवा उभिएको जस्तो भान भयो । कहिले उज्यालो होला जस्तो लाग्यो दराइलीलाई । रातैभरि निदाइन । रात यति धेरै डरलाग्दो र यति लामो समयसम्म रहन्छ भनेर जानी । राति निन्द्रा नलागेको उसलाई थाहै थिएन । आज आँखा झिपिक्क नपारी उज्यालो भयो ।

बुवा मरेपछि दराइली दिनभरि गाउँ चहार्थी । गाउँलेको घरकसिङ्गार र जुठोभाँडो गरेर खान्थी । राति सुत्न घर आउँथी । 

एक दिन राति सुत्न डर लागेको कुरा छिमेकी काकीलाई सुनाएकी थिई । काकीले यहीँ सुत न त भनिन् । दराइलीलाई काकीले पहिला पनि खुब जाति गरेकी हुन् । दराइली खुसी भई । त्यहीँ सुत्न थाली ।

काकी घरबाहिर गएका बेलामा काका दराइलीको छेउमा सुत्न आए । 

काकी नआउन्जेल काका दराइलीसँग सुते । काकी आएपछि काकीसँगै गए । दराइलीले यो कुरा काकीलाई भन्न निक्कै पटक कोसिस गरी तर भन्ने आँट आएन । 

काकी नभएको मौकामा दराइलीसँग काका आउने गरेको झन्डै सात आठ महिना भइसकेको थियो । काकाले बेलाबेला सोधिरहन्थे– नछुने भएकी छस् कि छैनस् ? 

काका मात्र भएको मौकामा दराइलीले भनी, काका नछुने नभएको दुई महिना बित्यो । 

बिहे गरिदिने तारतम्यता मिलाएर काकाले भने– पल्लो गाउँको सुुक्रेले लैजान्छु भनेको छ । बिस हजार पनि दिन्छु । त्योसँग भाग् । दराइलीले सुरुमा त मानेकी थिइन । काकाले निक्कै फकाएपछि मानी । 

सुुक्रे असल थियो । दराइलीलाई माया गथ्र्यो । एक दिन सुुक्रे नभएको मौका पारेर काका दराइलीसँग सुत्न आए । दराइलीले भनी– अब म तिमीसँग सुत्दिनँ काका । काका फर्किए । फेरि अर्को पटक सुुक्रे नभएकै दिन पारेर काका आएर जबर्जस्ती गरे । 

काकाले हिँड्नेबेलामा भने– म आएको बेलामा मलाई स्वागत गर्न मानिनस भनेँ तेरो कुरा गाउँभरि फिँजाइदिन्छु । सुुक्रेको मुद्दा पनि बल्झाइदिन्छु । 

दराइलीले आँटका साथ भनी– भने भन त ! सुुक्रेलाई सबै थाहा छ । सुुक्रेले पनि भनेकै छ । केही अपराध नगरी तिमीहरूले सुुक्रेलाई फसाइदिएका हौ । सुुक्रेलाई तिमीहरू मिलेर जेल हालेका त हौ नि । 

दराइली ठाँटका साथ बोलेको काकालाई फिटिक्कै मन परेन । थाहा पाउलिस् भन्ने चेतावनी दिँदै निस्किए । 

नभन्दै केही हप्तापछि सुुक्रेलाई समात्न पुलिस आए र हत्कडी लगाएर लगे । सुुक्रेलाई लगेको राति काका आए । आफ्नो पेट देखाउँदै दराइलीले भनी– तिमी मसँग कसरी सुत्छौ काका ? यी यत्रो भएको छ पेट । 

–बेलाबेलामा यसो दिँदै गर्नु पर्छ । तँलाई बच्चा जन्माउन पनि सजिलो हुन्छ । सुुक्रे गइगयो । अब कसैले थाहा पाउँदैन । काकाको कुरा सुनेपछि दराइलीले भनी– आज सुुव्रmेलाई लगिहाले मलाई खुब डर लाग्छ । भरे यहीँ बास बस्ने गरी आउन न त काका । 

काका खुसी हुँदै गए । नभन्दै राति भएपछि काका आए ।

सुुव्रmेका घरछेउमा एउटा पोखरी थियो । त्यो पोखरीको बिचमा एउटा अग्लो रुख थियो । 

दराइलीले भनी– पोखरीको छेउमा जाऊँ । आकाशतिर देखाउँदै भनी– मनमोहक जून छ । आज त्यहीँ रमाइलो गरौँ । 

पोखरीको किनारमा बसेको बेलामा दराइलीले काकाको टाउकाको बिचमा फलामे गलले ड्याम्मै हानी । काका भुइँमा ऐया पनि भन्न नपाई ढले । टाउकाभरि छ्याकछ्याक पारेर हानी । अनि पोखरीमा पल्टाइदिई । किनारामा पोखिएको रगतलाई सबै पखाली र पोखरीतिरै हालिदिई ।  

दराइलीलाई आज फिटिक्कै डर लागेको छैन । 

कहावत थियो । त्यो पोखरीको पानी जसका खुट्टाले छुन्छ । त्यो रगत छादेर मर्छ । त्यो रुखमा साक्षात देवी बसेकी छिन् । रुखलाई पनि खुट्टाले छुनु हुँदैन । त्यो पानी र त्यो रुखसँग गाउँभरिका मान्छे डराउँथे । 

दराइली त्यो रुखमा चढी अनि टुप्पामा गएर बसी ।

पुस्तौँ पुस्तादेखि त्यो पोखरीको पानी कसैले छुँदैन थिए । बिहान गाउँलेले काकाको लास पोखरीमा देखे ।

चारैतिरका मान्छे जम्मा भए । दराइली रुखको टुप्पामा थिई । कसरी त्यहाँ पुगिस् भनेर सोधे । दराइलीले भनी– मलाई थाहा छैन । म यहाँ कसरी आइपुगेँ । केहिले उडाएर ल्याएको जस्तो लाग्छ । काकाले खुट्टाले पानी छुनु भएको थियो । एउटा डर लाग्दो जन्तु जस्तो निस्कियो । त्यसले टाउकामा हान्दैहान्दै चिथोर्दै लगेको थियो । म आत्तिएकी थिएँ । उडेर यहाँ आइपुगेँ छु । 

देवीकै खेल हो भन्ठानेर दराइलीको कुरा सबैले पत्याए । उहिल्यै पनि यस्तै भएको थियो अरे । धामीले पूजाआजा र भाकल गरेर बुझाएका गरे । गाउँलेले यस्तो कहानी सुनेका मात्र थिए । आज देखे नै ।

गाउँलेहरू डराए ।

दराइलीले भनी– मलाई रुखबाट झार । देवी खुसी पार । आफ्नी स्वास्नीसँग बाहेक अरूसँग सुतेका लोग्नेमान्छे आयौ भनेँ रगत छादेर मर्छौ । मलाई बेलैमा झारेनौ भने गाउँभरि अनिष्ट हुन्छ ।

म रुखमा बसुन्जेलमा तिमीहरूमध्ये जसजसले कुनै स्त्री जातिलाई जबर्जस्ती गरेका छौ । एकएक गरेर रगत छादेर मर्ने छौ । तिमीहरू को को मर्नेवाला छौ यहीँबाट देख्ने छु ।

गाउँका जान्नेसुन्ने, फाकफुक गर्ने, धामी, पण्डित सबै जना खुब डराए । मान्छेहरू हरेक दिन भेला भएर भन्ने गर्थे मैले त यौन अपराध अनि केही अपराध गरेको छैनँ । तर दराइलीलाई झार्ने आँट कसैले गरेन ।

गाउँभरिका जान्ने सुन्ने लोग्नेमान्छेले दराइलीलाई देवी भनेर बोलाउन थाले । पोखरीको किनारमा बसेर भजन कीर्तन गर्न थाले । दराइलीदेवी नामको मन्दिर बनाए । कसैले सुनको गजुर चढाए । कसैले घण्टी चढाए । कसैले भोज लगाए । तर रुखबाट दराइलीलाई कसैले झार्न सकेनन् । यसै गरी दिन बित्दै गए । एक दिन दराइलीले भनी– सुुक्रेलाई छुटाएर ल्याओ । 

सुुक्रेलाई छुटाएर ल्याए ।  

देवी दराइलीले भनिन्, मलाई बेथा लाग्ने बेलामा म जेजे भन्छु त्यो भनेका कुरा फ्याटफ्याट पुग्छन् । 

कुरा सुन्न गाउँभरीका मान्छे जम्मा भए । देवी दराइलीले भनिन्– जसजसले यौन अपराध गरेको छ । त्यो मान्छे अलि अलि गरेर रोगी हुँदै मर्छ । काकालाई झैँ कुनै जन्तुले आएर उसको अपराध अनुसारको सजाय दिने छ ।

गाउँका मान्छे भजनकीर्तनसहित देवी दराइली भएको ठाउँमा आए । देवी दराइलीले उसै गरी भनिन्– शङ्खघण्ट, गजुर, त्रिशूल चढाएर मात्र हुँदैन । जसजसले यौन अपराध गरेको छ, ती मान्छेहरू अब तीन महिनाभित्र झोव्रmाउँदै मर्दै गर्ने छन् । जोजो मान्छे आउँदा म रुखबाट झर्छु ठान्नु त्यसले अरूमाथि अपराध गरेको हुने छैन । जसले यौन अपराध गरेको छ, त्यो आउँदा म रुखबाट झर्ने छैनँ । मभित्र देवी चढेको छ । म थाहा पाइहाल्छु । 

देवी दराइलीलाई सामूहिक रूपमा भेट्न आउँथे । एक्लै गएर भेट्न चाहन्थे । तर कोही जान सकेनन् । 

गाउँभरि हल्ला फैलियो देवी दराइलीले नामै किटेर भन्छिन् अरे । नाम किटेपछि रगत छादेर मर्छन् अरे । काकाकै जस्तो टाउको चिथोर्ने जन्तु नै आएर घिसारेर लैजान्छ अरे ।

देवी दराइलीले त तीन महिना भनेकी थिइन् । दुई महिनापछिदेखि नै गाउँका भद्रमान्छेहरू बिरामी पर्न थाले । झोक्रउन थाले । एक्लै बोल्ने, बर्बराउने, निद्रामै उठेर कुद्ने, बौलाहा जस्ता देखिन थाले । 

गाउँभरिका मान्छे पुकारा गर्थे देवी दराइली !