• १५ कात्तिक २०८१, बिहिबार

पतनकाल

blog

मसिनीले चियापसल खोलिछ । मसिनी भनेपछि ऊ एक महिला, भनिरहनु परोइन । माधव महिलाहरूका विषयमा धेरै सरोकार राख्दैनथ्यो तर अहिले उसलाई यस्तो अवस्थामा देखेर माधवलाई अफसोस लागिरहेको थियो । माधवलाई अफसोस लागिरहेको थियो, किनभने उसले चिन्दथ्यो उनलाई । ऊ यसरी चियापसल खोलेर गुजारा गर्नुपर्ने हुन पुग्ली भन्ने उसले सोचेको थिएन । तर यस्तो भयो र  त्यो भएको देख्नुप-यो । उसको नाम उसलाई  थाहा थिएन तर शारीरिक बनोटले उसलाई माइतदेखि नै मसिनी भनेर बोलाउने गरिएको हुनु पर्छ भन्ने अनुमान थियो उसको । मात्र उसले अनुहारले चिन्यो । खासमा यस्तो हुनु नपर्ने हो । कारण यो थियो, उसको श्रीमान् एक अत्यन्त व्यावसायिक मानिस जस्तो थियो । व्यावसायिक यसरी, मसिनीलाई भनियो अर्की केटी नपाएपछि लेनदेनको आधारमा बिहे गरेको थियो । दिने नाउँमा मसिनीको लोग्नेले एउटा लैनो भैँसी ससुरालीमा बाँधिदिएको थियो । हो वा होइन, रहस्य नै थियो । 

मसिनीलाई बिहे गरेर लगेदेखि माधवले उनीहरूसित सम्पर्क गर्न पाएको होइन । उनीहरू कता गए त्यो पत्तो लगाएर पछ्याउने काम माधवको थिएन । तर अहिले मसिनी चियापसलमा एक्लै उभिएर चिया फिटेको देख्दा लाग्यो उसको लोग्नेले उसलाई छोडेको हुनुपर्छ अथवा उसको मृत्यु भएको हुनु पर्छ । मृत्यु क्यान्सरले । क्यान्सर भनेर माधवले यस कारण अनुमान ग-यो उसले मसिनीको लोग्ने लामै लहरो खोकीले दोब्रिएको देखेको थियो । यसर्थ उसले मसिनीभन्दा अन्य केटी नपाएको हुनु पर्छ ।   

एउटा कुरो, माधवसित मसिनीको बिहेको कुरो चलेको थियो । बिहे भएको भए के हुने थियो त्यसको अनुमान माधवले गर्न सक्ने कुरो बन्दैनथ्यो । अहिले जसरी उसले पनि उसलाई छोडपत्र गर्ने थियो ? सुनेअनुसार उसलाई लोग्नेले डिभोर्स नदिई लघारेको हो रे । कुरा सुन्दै बुझ्दै थियो ऊ र चिन्तित हुँदै थियो । कारण मसिनीलाई ऊ चिन्दथ्यो र जुरेको भए ऊ उसकी श्रीमती पनि हुने थिई । अर्को के भने यो सहरमा चियापसल धेरै थिए र उसले यस्तो अपायक ठाउँमा चियापसल खोलेर कसरी गुजारा गर्ली भन्ने चिन्ता लागेको पनि थियो ।

मसिनीलाई चिनिहाले पनि एक पटक पनि माधव उसको चियापसलमा गएर उभिएको होइन, न बोल्न आवश्यक लागेको थियो– पुनः चिनापर्ची गर्दे एक गिलास चिया खानु त टाढैको कुरो । चिया पनि के खानु थियो, जता गयो उतै चियाको अफर आउँथ्यो । उसले लोग्नेसित सम्बन्ध विच्छेद भएपछि आत्मनिर्भर हुन यता आएर चिया पसल खोलेको हुन सक्थ्यो । सिलाइकटाइको पसल खोले पनि हुन्थ्यो । महिलाका लागि उपयुक्त काम त्यही मानिन्थ्यो । अरू धरै भए रक्सी मासुको पसल । रक्सी मासुको पसल उसले यस कारण नखोलेको  हुनु पर्छ उसमा रूप र जिउ दुवै थिएन, जसले ग्राहकलाई आकर्षित गरोस् र हाँसोठट्टा गर्दै मासु थप्दै रक्सी खान उन्मादित पारोस् ।    

आसलाग्दो कुरो उसको एउटा छोरो रहेछ । लोग्नेले उपहार दिएको । छोरो बढेहुर्केपछि केही गर्ला र आमालाई सुखले पाल्ला भन्ने कथनका लागि । तै छोरो हुर्किसकेको थियो । बाउलाई छोडेर आमासितै बस्थ्यो । बाउले छोरो छाडेर जा भन्ने क्लेम गरेनछ कि ? उसको डिभोर्स कहिले भएको हो ? काखमा यो छोरो छँदै हो कि अथवा हालैको कुरो हो यो ? लोग्ने भनाउँदोलाई माधवले भेटे पनि चिन्न सक्ने थिएन । तर मसिनीलाई चिन्दथ्यो, बाल्यकालकी साथी भएर पनि होला । थपमा ऊसित उसको झन्डैझन्डै मगनी भइसकेको हुनाले हो कि ? दही खाने कुरोसम्म चलेको थियो । उसको बिहेपछि छोरो जन्मेर यत्रो लाठे भइसकेको थियो । चियापसलमा छोरो बस्दैनथ्यो । अभैm पनि पढ्दै थियो । पढ्नमा माधवलाई रुचि भएन न जगन्नाथलाई नै भयो ।   

छोरो क्याम्पस पढ्न जान्छ जस्तो थियो । चियापसल क्याम्पस रोडमै थियो उसको । छोरो पनि क्याम्पस रोडबाटै सहपाठीहरूका बिचमा साइकिलमा हल्लँदैहाँस्दै पढ्न गइरहेको देखिन्थ्यो । छोरो क्याम्पस पढ्न जाने भयो भनेर उसको अनुहारमा सन्तुष्टि देखा परेको पाएन उसले । मसिनीको अनुहार नै बाक्लो चायाले छोपे जस्तो भइसकेको थियो जसलाई कुनै पनि उज्यालोले उजिल्याउन सक्दैनथ्यो । बाक्ला चाया दुःखका थिए कि तिरस्कारका ? यो उसले किटेर भन्न सक्दैनथ्यो तर मसिनीको मनको दुःखको चाल कसरी कसरी थाहा पाएको थियो । मसिनीको चियापसलको अगाडि एउटा पुस्तक पसल थियो जसमा हाफ साइजका स्थानीय साप्ताहिकसमेत राजधानीका ब्रोडसिट दैनिकहरू लहरै झुन्ड्याइएका हुन्थे । माधव पसलमा ड्युटी कसेर बस्ने मालिक जगन्नाथको साथी थियो । जगन्नाथ राजनीतिक चेतना सम्पन्न व्यक्ति हो भन्न सकिन्थ्यो । राजनीति त अचेल व्यङ्ग्यको विषय नै थियो । त्यसैले दलका नेतृत्वदायी नेताहरूलाई खिसी गर्न खासै अप्ठेरो पर्दैनथ्यो मानिसहरूलाई । 

माधव खाना खाएपछि अथवा बिहानको छेलमा जगन्नाथको पत्रिका पसलमा बसेर एक एक वटा छान्दै पेपर पढ्थ्यो । बिचबिचमा जग्गन्नाथ मुडमा आयो भने राजनीतिक बहस पनि गरिटोपल्थ्यो । तर अन्त्यमा यो गुनासो गथ्र्यो, पत्रिका बेच्नेले ग्राहकसँग यारदोस्ती गर्नु ठिक हुँदैन । घोडाले घाँससँग दोस्ती गरे जस्तै हुन्छ भन्थ्यो । ऊ भन्थ्यो– ग्राहक हुने सम्भावना बोकेकाहरू पसलभित्र पस्छन्, उभिएर वा बेन्चमा बस्छन्, पत्रिका पढ्छन् र यथावत् राखेर जान्छन् । किन्ने कसैले होइन । यति भनेपछि जगन्नाथ ऊतिर पुलुक्क हेथ्र्यो, हाँस्दै भन्थ्यो– यो तिमीलाई भनेको होइन । कारोबार मन्द रहेको पसल ऊ बेचिहाल्ने सोच्दैनथ्यो । पत्रिका नकिनी पढ्नेमा माधव पनि पथ्र्यो । ‘तिमी’ सम्बोधन गर्न सकिने गरी माधव पत्रिका पसलको मालिक जगन्नाथको आत्मीय साथी थियो । सहपाठी भनौँ न । दुवैले इन्टर पढेपछि कलेज वा क्याम्पस जे भने पनि छाडेर आआफ्नो व्यवसायमा लागेका थिए ।

दुवैको एउटा खास समयकाल निश्चित थियो । त्यतिखेर उनीहरूको आत्मीयता झन् प्रगाढ बन्थ्यो । त्यो हुन्थ्यो साँझपख । उनीहरूको भनाइ अनुसार पतनकाल सुरु हुन्थ्यो । उनीहरू पतनकाल भन्दै हाँस्थे । कहिलेकाहीँ जगन्नाथ मुडमा छ भने त्यसलाई उत्थानकाल पनि भन्थ्यो तर त्यो काल पतनकाल भनेरै टक मारिएको थियो । पिउनु्लाई उनीहरू दुवैले पतनकाल भन्थे । धेरै नियमित पिउँदैनथे तर यसमा सहमति यो थियो, कहिले यसले कहिले उसले पतनकालको खर्च बेहोर्ने । यो पतनकाल दिनचर्या वा सन्ध्याचर्याका बिचको एउटा पूरक र मित्रताप्रेरक कार्यक्रम थियो जसलाई ती दुवैले गोप्य राखेका थिए । बोर भयो हो, पतनकाल कति बेला सुरु हुने हो ?– ठट्टिन उनीहरू भन्थे । 

तर जगन्नाथमा लत थियो होला पतनकालको, माधवमा थिएन । एक क्वार्टर पतनपेय बोकेर घरै जान्थ्यो जगन्नाथ । माधवलाई पतन गराउनमा जगन्नाथको हात थियो, ऊ धेरैजसो उद्यत रहन्थ्यो खर्च बेहोरेर । जगन्नाथको गाउँमा किसानी थियो र बेलोबलामा भन्थ्यो– जुनै सरकार आए पनि मलको व्यवस्था गर्न सकेको होइन । धेरै राजनीतिक तिक्तता थिएन ऊसित तैपनि समय र राजनीतिक परिस्थितिदेखि असन्तुष्टि थियो जसलाई ऊ, धेरै तितोले व्यक्त गर्दैनथ्यो । ऊ सम्पन्न थियो, पारिबाट चोरबाटो हुँदै मल मगाउँथ्यो र खेती राम्रो पाथ्र्यो महँगै तरिकाले ।  

त्यसरी नै पत्रिका पढ्दै गर्दा एक दिन माधवले चियापसलमा मसिनीलाई चिया फिट्दै गरेको देखेको थियो । केही दिनपछि एउटा कान्छो केटो पनि देखा प-यो जुठा गिलास खकाल्ने र पोछा लाउने । मसिनी एक मध्यम कदकी महिला थिई । बाँसको ताछेको कप्टेरो जस्तो काया । मानिस ऊ सानैदेखि शुष्क थिई । सानैमा पनि माधवले ध्यान दिएको कुरो यो थियो उसको अनुहारमा हाँसो वा खुसी प्रकट भएको थाहा हुँदैनथ्यो । विषादले ढाके जस्तो लागिरहने अनुहारकी थिई ऊ । लोग्नेले छोडेपछि त अवसादको झन् कालो बादलले सदैव ढाकिरहने गरेको देखियो । छाती सपाट थियो । छोरो डढाकको थियो । उसको छातीको अनुन्नतता देखेर कसरी र कुन स्तन चुसाएर छोरो हुर्काई र यस्तो डढाकको बनाई ? आश्चर्य लाग्थ्यो, मनमा प्रश्न पनि उठ्थ्यो माधवको । 

तर अरूका छोराछोरी कसबाट जन्मे र कसरी हुर्के भन्नु उचित होइन भन्ने माधव सोच्थ्यो र अनर्थ सोचेछु भनेर मनमनै लज्जित हुन्थ्यो । उसरी त्यसमा अनर्थ जस्तो केही थिएन । उसको मान्यतामा त्यस्तो सोच्दा महिलाको अपमान हुन सक्थ्यो । अपमान हुने सोचेरै उसले त्यसतिर थप तर्क गर्दैनथ्यो । जे होस्, ऊसँग मसिनीको बिहेको कुरा चलेको थियो । ऊ वर्ष दुई वर्षले जेठी थिई । दही खाएर कुरा छिन्न मात्र बाँकी थियो, माधवले मानेन । उसले नमानेकै कारण बिहे ट¥यो । पछि बिहे गर्छु भन्ने अस्पष्ट अडान लियो उसले । कोसित गर्छु भन्ने स्पष्ट गरेन । पछि बिहे हुनै सकेन । तर केही समयपछि बाहिरबाट कोही आएर मसिनीलाई बिहे गरेर लग्यो रे भन्ने सुन्यो उसले, सहर पसेको केहीपछि । 

माधवले उस बेला बिहे नगरेर ठिकै गरेछु भन्ने मान्यो । उति बेला पनि मसिनी ओइलाएकै देखिन्थी । उसै बेला गाइँगुइँ हल्ला यो थियो, चुरोटबिडी तान्ने लत छ उसमा । चुरोट माधव खाँदैनथ्यो । चुरोटबिडी खाईखाई गाउँभरि खोक्दै खोक्दै पाकेको पहेँलो खकार थुक्दै हिँड्ने मानिसहरूप्रति उसमा वितृष्णा थियो । अर्कातिर पढाइको जोस पनि थियो । पढेलेखेर ठुलै मान्छे बन्छु भन्ने लक्ष्य राख्थ्यो ऊ । तर लक्ष्य ठुलो मान्छे बन्छ्ु भन्ने मात्र थियो, कस्तो खालको ठुलो भन्ने स्पष्ट थिएन । यसै गाउँसहरका छोराहरू इन्जिनियर र डाक्टर भएका थिए र एक दुई जना पाइलट पनि । पाइलट ठुला मान्छे हुन् वा होइनन् त्यो उसले किटान गर्न सकिरहेको थिएन तर मुलुकमा यदाकदा प्लेन वा हेलिकप्टर एक्सिडेन्ट भइरहन्थे । डाक्टरहरूले पनि पब्लिकबाट यदाकदा पिटाइ खाइरहन्थे । इन्जियरहरूका पुल पनि बेलाबेला भाँच्चिइरहन्थे । उसको सोचमा यी कुनैमध्ये एक हुने खाका थिएन । बिहे टार्न उसले त्यसो भनेको पनि हुनुपर्छ– ठुलो मान्छे बन्नु छ मलाई । अहिले ठुलो मान्छे हुन सकेन, किराना पसलको मालिक भएको छ । 

माधव खाना खाएर एक निद्रा सुत्थ्यो र उठेपछि एक कप चिया बनाउन लगाउँथ्यो, त्यो खान्थ्यो । श्रीमती पनि इन्टर पास थिई । बिहेताका उसले श्रीमतीको माइतीलाई पत्नीलाई पढालेखा डिग्रीधारी बनाएरै छाड्छु भनेको थियो । त्यो सबै बिर्सिएका कुरा भएका थिए । जिउमा बोसो चढेको थियो उसको । डाक्टरहरू बोलेस्ट्रोलको मुखमा छौ भन्थे । श्रीमती पनि मोटाएर थसुल्ली हुनहुन खोज्दै थिई । बिहे गरेर ल्याएको दुई चार वर्षसम्म त पढ्न पाए हुन्थ्यो भनेर माधवसित गनगन गरिराख्थी । तर माधवको उपेक्षा र एक दुई पटकको नराम्रो झपारले ऊ चुप बस्न बाध्य भई । पछि पतिकी आज्ञाकारिणी पत्नी भएकी थिई । टोलमुहल्लामा प्रशंसित थिई– लोग्नेले अराएको भुइँमा खस्न दिन्ने ।  छोरी उषा पनि जन्मेकी थिई । अचेल पढ्ने कुरोतिर सोचै जाँदैनथ्यो बुढाबुढीको । दाल–चामल र आलु–प्याज तौलिनमै व्यस्त रहन थाले । पसल बन्द गरेपछि नगद गन्ती गर्नतिर लाग्थ्यो माधव । पत्नी खानपिनको व्यवस्थातिर  । 

कुरो यो थियो, माधव दिउँस एक निद्रा सुतेर उठेपछि एक कप चिया खान्थ्यो जुन उसकी श्रीमतीले बनाउँथी । आपूm पनि एक कप खान्थी । सासूससुरा गाउँमा थिए । गाउँबाट कोही आएको छ भने उसलाई पनि एक कप चिया दिइन्थ्यो तर थोरै दुध राखेको, कालोलाई सेतो पार्न मात्र । खल्लोखल्लो, चिनी कम । 

पुस्तक पसलमा बसेर पत्रिका पढ्दापढ्दै माधवको ध्यान त्यो चियापसलतिर गएको थियो । त्यहाँ मसिनी थिई चिया फिट्दै गरेकी जसलाई माधवले मात्र चिन्दथ्यो । जगन्नाथलाई समेत यो कुरो थाहा थिएन । ऊ आश्चर्यमा प¥यो । ऊ फर्केर यहाँ आउली भन्ने माधवलाई लागेको थिएन । बिर्सेको मानिसलाई धेरै समयपछि देखे पनि चिनिँदो रहेछ र पुराना कुरा स्मृतिमा आइहाल्दा रहेछन् । उसको गाउँ र माधवको गाउँ एउटै थियो । पढ्न सहर पसेपछि गाउँमा माधव बस्दैनथ्यो तर उसले माधवसँग बिहे गर्न पाए हुन्थ्यो भन्ने भनेकी थिई रे । 

माधवले उसलाई अस्वीकार गर्नुको कारण उसको काया पनि एक थियो । दोस्रोमा ऊ जेठी हुनुबाहेक ऊ लुकेर बिँडीचुरोट पनि खान्थी । मुखबाट तमाखुको हस्को आउँथ्यो रे । माधव यो चाहन्थ्यो, उसकी दुलही अनुहारले राम्री, कायाले फस्टाएकी र पढेलेखेकी होस् । मसिनीमा यो कत्ति पनि थिएन । दुब्लो र रोगले क्षीण भए जस्तो काया त्यसमाथि अनुहारले पनि राम्री थिइन ऊ । माधवले मनमनै भन्थ्यो कति बदख्वाइँ गर्नु अरूको । जब बिहे नै गरिएन । 

बिचरी दुर्भाग्यको मारमा परेकी रहिछ । अहिले त लोग्नेले पारपाचुके दिएपछि ऊ झन् खव्रmक्क भएकी थिई यद्यपि छोरो त्यस्तो थिएन । छोरो बाउ गोत गएको हुनाले होला डढाकको थियो र गोरो पनि । बाक्ला काला कपाल र हँसिलो अनुहार । उसको बाउले ओठका बिट मारेका काला मसिना छोटा छाँटेका जुँगा पालेको थियो । छोरोको जुँगा थिएनन् । स्वभाव कस्तो थियो ? बाउकै जस्तो थियो कि अर्के । छोराको स्वभाव बाउकै जस्तो थियो कि थिएन ? बाउकै स्वभाव उसलाई थाहा थिएन, तुलना गर्ने ठाउँ थिएन । 

मसिनीले चिया फिट्दै चुरोट तान्दै गरेको देख्थ्यो माधवले । धूमपानको आदत छुटेको रहेनछ । चुरोटको खरानी चियाको गिलासमा खस्न पनि सक्थ्यो । त्यसले चिया तिक्खर पार्दो हो । 

माधव चियापसलको अगाडिबाट ओहोरदोहोर गर्दा मसिनीले स्मृतिमा चिने जस्तो गरी उसलाई हेर्ने त गर्थी तर अभिवादन, भलाकुसारी गर्दैनथी । उसले पनि त्यस्तै गथ्र्यो । पत्रिका पसलमा बसेर चियापसलतिर आँखा लगाइरहँदा दिनको कति गिलास चिया बिव्रmी हुन्छ भन्ने हिसाब गर्न त सकिन्थ्यो तर त्यतिले आमाछोराको गुजारा चल्छ र भन्ने शङ्का उब्जन्थ्यो अनि प्रश्न बन्थ्यो– अरू केही धन्दा पनि गर्दी हो, तर अरू गर्थी के ? 

त्यस दिन साँझ परेपछि जगन्नाथले भन्यो– आज पतन हुने मन छैन ? उसलाई आपत्ति थिएन । तैपनि उसले भन्यो समय भएपछि मन होला । तर एउटा कुरो के जग्गु, त्यो अगाडि चियापसलमा म त ग्राहक देख्दिनँ यार । के गरेर खर्च धान्दा हुन् ? जगन्नाथ हाँस्यो । खुलेर होइन, प्रश्नकर्ताको मूर्खताप्रति अलि सहानुभूतिशील भएर । अलि सुस्तरी भन्यो– अरे भाइ, अचेल बाहिर देखाउने एउटा धन्दा हुन्छ भित्र अर्कै । हात्तीको दाँत जस्तो । माधवलाई लाग्या– लिवुप्त हुने डर भए पनि हात्ती अभैm पनि लोकोक्तिमा कायम छ । उसले आश्चर्य प्रकट गर्दे भन्यो– कस्तो भित्री धन्दा ? जगन्नाथ अलि गम्भीर बन्यो, भन्यो– अब साँझ थाहा पाउँछस् । 

साँझ पनि प¥यो । ऊ त्यतिन्जेल घर गएन । साँझपख रासन लिनेहरू अलि धेरै नै हुन्थे तर पत्नी दक्ष छे, समाल्छे भनेर ऊ जगन्नाथसँगै ढुक्कले बस्यो । मसिनीको अर्को धन्दा थाहा पाउन साँझसम्म पर्खेर बस्यो जुन समयलाई उनीहरू पतनकाल भन्थे । 

अगाडिको चियापसलको कारोबारको पछाडि केकस्तो अर्को धन्दा छ भन्ने ऊ पत्तो लगाउन व्यग्र थियो । साँझ जगन्नाथले चियापसलतिर हेरिरह्यो र जुठा भाँडा माझ्ने कान्छाका आँखा ऊतिर तेर्सिएपछि हातको इसाराले बोलायो । कान्छो तत्परताका साथ सडक पार गरेर जगन्नाथको पसल अगाडि उभिन आयो । उसले अलि नजिक आउन हातले थप इसारा ग¥यो । भन्यो– आज के छ ? 

कान्छोले निर्धकक भएर भन्यो– कोदोको छ । फरेस माल । मिठो । दाइले ल्याएको । 

कान्छो मसिनीकी छोरीलाई दाइ भन्दो रहेछ । 

त्यस साँझको पतनकालमा कोदोको नै चल्यो । मस्त भएर घर फर्केर भान्सामा खान बस्दा खाना बढी रुच्यो । निद्रा पनि परेछ चाँडै । 

अर्को दिन दिउँसको निद्राबाट फरफारक भएर चिया खाइवरि माधव जगन्नाथको पसलतिर निस्क्यो । पसलभित्र पसेर एउटा स्थानीय पत्रिका टिपेर पढ्नुअगि उसले बाटोपारिको मसिनीको चियापसलतिर आँखा डुलायो । पसल बन्द थियो । ऊ अलि चकित भयो । चियापसल किन बन्द ? मसिनी बिरामी भई कि ? अथवा अर्को पोइको पछि लागेर हिँडी ? छोरो कता गयो ? 

अधैर्य बन्दै उसले जगन्नाथलाई सोध्यो–अगाडिको पसल किन बन्द आज । 

जगन्नाथ हाँस्यो र भन्यो– सहरभरि हल्ला छ । लौ सहरभरि हल्ला नभए पनि यता टोलमा त सर्वत्र हल्लै छ । राति पुलिसले छापा मारेर चिया पसलकी साहुनीलाई लग्यो । अहिले छोरो गएको छ बुझ्न र छुटाउन । पुलिसले गरी खान नदिने भयो । सानै माछा भए पनि समातेको छ अहिले त । माथिबाट मन्दी छ तैपनि कर्तव्यपरायणता छ ।

यति भनेर हाँस्यो जगन्नाथ र भन्यो– बदनाम भइसकेको छ यो धन्दा । 

माधवले धन्दा भन्नाले कुन धन्दा हो त्यो धेरै बुझेन । अवैध मदिराको धन्दा त थियो तर त्यसमाथि पनि अर्कै धन्दा थियो कि चलिराखेको ?