• १२ मंसिर २०८१, बुधबार

डेङ्गु फैलिँदा तनहुँमा चाडपर्व खल्लो

blog

तनहुँका आँबुखैरनी अस्पतालमा दशैंको समयमा भर्ना हुन आएका बिरामी । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज ३० गते । तनहुँमा फैलिएको डेङ्गु नियन्त्रणमा नहुँदा बडादसैँको रौनकता बढ्न सकेको छैन । विशेष गरी तनहुँको सदरमुकाम दमौलीमा घरैपिच्छेका मानिस बिरामी हुँदा चाडपर्वको समयमा आफन्त, इष्टमित्रमा खुसी छाउन नसकेको हो ।

आईतबारसम्ममा ६ हजार ८८  जनालाई डेङ्गुको सङ्क्रमण हुनका साथै पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो  ।

डेङ्गु सङ्क्रमण बढ्दै गएपछि सरकारी तथा निजी अस्तालमा बिरामीको भीड लागेको छ । अधिकारीका अनुसार व्यास नगरपालिकामा सबैभन्दा बढी प्रभावित भएका छन् ।  व्यासमा ८४ प्रतिशत र अन्य पालिकामा १६ प्रतिशत बिरामी छन् । व्यासमा पाँच हजार १०१, आँबुखैरेनी गाउँपालिकामा ३९, ऋषिङ गाउँपालिकामा १६०, घिरिङ गाउँपालिकामा नौ, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा ४१, भानु नगरपालिकामा ७३ भिमाद नगरपालिकामा १६९ जना, म्याग्दे गाउँपालिकामा ९४ जना, शुक्ला गण्डकी नगरपालिकामा ३७७ जना र पालिका नखुलेको ६ जनामा डेङ्गुको सङ्क्रमण भएको छ । 

डेङ्गुबाट मृत्यु हुने पाँच जना व्यास नगरपालिका हुन् । वडा नम्बर–४ शीतलचोकका छ वर्षीय बालकको असोज २६ गते निधन भएको थियो ।  गत असार १६ गते वडा नम्बर १० निवासी ३५ वर्षीय युवा, असोज २ गते वडा नम्बर – ११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते, वडा नम्बर–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते वडा नम्बर –२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको छ । आफ्नो मामा बिरेन्द्र काफ्ले बिरामी हुँदा दसैँ  पर्वमा खुसी नलागेको व्यास नगरपालिका–३ निवासी कोपिला पण्डित पौडेलले बताउनुभयो । कोपिला जस्तै बिरामी भएका अन्य परिवार रोग फैलिँदा निराशा भएका छन् । 

डेङ्गुको सङ्क्रमण एडिज जातिको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने,  लार्भा हुर्काउने भएकोले पानी जम्न नदिएर बासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् ।

बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिबर्तन बरालले जानकारी दिनुभयो ।  जिल्लामा रोग फैलिदै गएपछि रोकथाम, नियन्त्रण र न्युनिकरणको लागि अभियान सञ्चालन गरिएका छ । लामखुट्टेले फुल पार्ने ठाउँमहरु ‘‘खोजौं र नष्ट गरौं’’ भन्ने नारा सहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । नेपाल रेडक्रस सोसाईटी तनहुँ डेङ्गु रोगको रोकथाम तथा न्यूनिकरण अभियानमा सामेल छ । 

रेडक्रसले जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कल मार्फत लामुखुट्टेको बास स्थान खोज्ने र लार्भा नष्ट गर्ने लगायतको कामभईरहेको नेपाल रेडक्रस सोसाईटी तनहुँका महामन्त्री सूर्यचन्द्र हड्खलेले बताउनुभयो । 

तनहुँमा नेपालमा धेरै डेङ्गुको सङ्क्रमण फैलिएको दमौली अस्पतालका प्रमुख डा. बरालले जानकारी दिनुभयो । रोग  नियन्त्रणमा आउन नसक्दा चाडपर्वको समयमा भर्ना गर्ने बिरामी आईरहेको बराल बताउनुहुन्छ । डेङ्गुका बिरामीलाई उपचारको लागि सहज बनाउन १० बेड अलग्गै व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । बिरामीमध्ये महिला ५४ प्रतिशत र पुरुष ४६ प्रतिशत प्रभावित भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।