• १२ मंसिर २०८१, बुधबार

मुस्ताङमा शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणलाई सास्ती

blog

अमृतप्रसाद पौडेल

मुस्ताङ, कातिक ६ गते । हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो झण्डै दु महिनादेखि शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् । मुस्ताङ जिल्ला अस्पतालमा रहेका विशेषज्ञ चिकित्सको सरुवा भएपछि अर्को व्यवस्था हुन नसक्दा समस्या भएको हो ।

आठ महिनादेखि कार्यरत रहनुभएका नवौं तहका एमडिजिपी चिकित्सक डा. मुखिया घलेको सरुवा भएसँगै मुस्ताङ अस्पतालमा शल्यक्रिया सेवा बन्द भएको हो । डा. घले मनाङ अस्पतालबाट मुस्ताङ आउनुभएको थियो ।

मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. तेजस नेपालले भन्नुभयो, ‘चिसो मौसम अनि अहिले जिल्लाबाहिरका पर्यटकहरुको बढ्दो चापको समयमा विशेषज्ञ डाक्टर नहुँदा निकै कठिनाइ भएको छ ।’

दुईवर्षे दुर्गम सेवा प्रावधान अनुरुप मुस्ताङ अस्पतालको पहलमा डा. घले मुस्ताङ अस्पतालमा आउनुभएको थियो ।  घलेभन्दा पहिला एमडिजिपी चिकित्सक डा. कुन्दन कर्ण कार्यरत हुनुहुन्थ्यो । दुवै एमडिजिपी चिकित्सकहरुले आफ्नो कार्यकालमा प्रसूति शल्यक्रिया सँगसँगै सामान्य अपरेशन समेत गर्नुपर्ने बिरामीलाई मुस्ताङमै सेवा पुर्याउनुभएको थियो । नेपाल सरकारको छात्रवृत्ति सुविधाबाट अध्ययन गर्नुभएका घले सरुवा भएपछि शल्यक्रियाका सबै सेबा बन्द भएको मुस्ताङ अस्पतालले जनाएको छ ।

२०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पताल स्थापनाको ४८ वर्षपछि शल्यक्रिया सञ्चालनमा ल्याइएको थियो । सुरुवातीमा १५ शैयाबाट सुरु गरिएकोमा सङ्घीयतापछि प्रदेश सरकारको मातहतमा २५ शैय्या बनाइयो । 

मुस्ताङ अस्पतालमा सामान्य अपरेशन तथा प्रसूति शल्यक्रियाका लागि प्रदेश सरकारले आवश्यक एकुमेन्ट र तालिमहरु सञ्चालन गरेको थियो । यद्यपि शल्यक्रिया सञ्चालनमा आएको दुई वर्ष नपुग्दै पटक÷पटक सेवा अवरुद्ध हुदै आइरहेको छ । मुस्ताङ अस्पतालमा उपकरणको व्यवस्था भए पनि चिकित्सक नहुँदा भिडियो एक्सरे(युएसजी) सेवा पनि प्रदान गर्न असहज भएको छ ।

डाक्टर नहुँदा अप्रेसन सेवा रोकिएको छ, ल्याउनका लागि प्रयास भएको भए पनि ल्याउन नसकेको जानकारी आफूले पाएको  जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतेलाल थकालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुर्गम ठाउँमा दक्ष चिकित्सक नहुँदा बिरामीले धेरै खर्च गरेर उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता भएको छ ।’

मुस्ताङ अस्पतालका डार्क रुम अधिकृत भोजराज रेग्मीले जनशक्तिका कारण सेवा दिन कठिन भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अस्पतालमा आउने बिरामीहरुलाई सेवा दिन मन त हुन्छ सबैको तर दक्ष तथा विशेषज्ञ नै नहुँदा चाहेर पनि त सेवा दिन सकिँदैन, अनि बाहिर पठाउन रिफर गर्नुको विकल्प हुँदैन ।’

भौगोलिक विकटताका कारण मुस्ताङमा दक्ष र अनुभवप्राप्त चिकित्सक बस्न नचाहँदा अस्पतालको शल्यक्रिया सेवा अवरुद्ध हुन पुगेको जोमसोमका व्यवसायी अमृत सुवेदीले बताउनुभयो ।