• ६ जेठ २०८१, आइतबार

बाढीपीडित बस्तीमा छैन दसैँ रौनक

blog

रजनी योगी

सुर्खेत, कात्तिक ४ गते । नेपालीको महान् पर्व दसैँको चौतर्फी रौनकता छाएको छ । सहर बजारबाट मात्र होइन, घरपरिवारको जीविकाका लागि परदेसिएकासमेत गाउँ घर फर्केका छन् । हुने खानेदेखि हुँदा खानेसम्म सबैले आआफ्नो क्षमता, हैसियत अनुसार दसैँ मनाउने तयारीमा छन् ।

सुर्खेतको वराहताल गाउँपालिका–२, गिरीघाटमा अहिले पनि चाडपर्वको रौनक छैन । उनीहरूलाई पीडा र ऋणको भारीले च्यापेको छ । २०७१ सालयता उनीहरूका लागि दसँैमा कुनै उमङ्ग नै आएको पाइन्न । २०७१ सालमा आएको बाढीले सयौँलाई घरबारविहीन बनायो । कैयन्ले परिवारका सदस्य र आफन्त गुमाए । दर्जनभन्दा बढीको ज्यान गयो । त्यो अप्रत्याशित घटनाका कारण अझै पनि गिरीघाटवासीका आँखा ओभाएका छैनन् ।

बाढीले घर सम्पत्ति बगाएपछि नौ वर्षदेखि सयौँ घरपरिवार टहरोकै व्यवस्थापन र बिहान बेलुकीको छाक टार्नका लागि सङ्घर्षरत छन् । आफन्तले घर भरिन्थ्यो, टीका र आशीर्वाद थाप्नेको भिड हुन्थ्यो, बेलुका आँगनमा नाचगान पनि चल्थ्यो । नौ वर्षअघिसम्म उर्मिला कार्कीले घरमा दसैँले यस्तै उमङ्ग ल्याउँथ्यो । अहिले दसैँको कुनै अनुभूति नै हुन नसकेको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान बेलुका छाक टार्नै मुस्किल हुन्छ । कसरी दसैँ मनाउनु ? पीडा र ऋणको भारीले च्यापेको छ ।”

शिविरको बस्तीमा बस्नु हुने रामबहादुर नेपालीले पालमुनि कष्टकर रूपमा नौ वटा दसैँ मनाएको बताउनुभयो । उहाँले अरूका लागि दसैँ पर्व बनेर आए पनि आफ्ना लागि चाडपर्व दशा बनेर आउने गरेको बताउनुभयो । 

२०७१ साल साउन ३० गते आएको बाढीले बिस्ना विकको घरजग्गा बगायो । घरजग्गा बगाएपछि परिवारसहित थातथलो छोडेर गिरीघाटको सडक छेउमा बस्न थालेको नौ वर्ष पुग्यो । 

उहाँले भन्नुभयो, “समस्या ज्युँका त्युँ छन् । चाडपर्व आउँदा झनै समस्या हुने गरेको छ ।”

उहाँले भन्नुभयो, “जमरा राख्ने ठाउँसमेत छैन । पालमुनि कता सुत्नु ? कता भान्सा बनाउनु ? २०७१ सालयता हामीले चाडपर्व मनाउन पाएका छैनौँ ।”

वराहताल गाउँपालिका–२ का १२५ घरधुरी गिरीघाटस्थित वीरेन्द्रनगर–१ को सामुदायिक वन क्षेत्रमा बसिरहेका छन् । विस्थापित भएकै एक दशक पुग्न लागिसक्दासम्म उनीहरूको पुनस्र्थापना हुन सकेको छैन । बाढी प्रभावित परिवारको बसाइँ मात्र असुरक्षित छैन, बिहान बेलुकाको गाँस जुटाउन पनि उस्तै मुस्किल छ । स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीजस्ता सुविधाबाट उनीहरू वञ्चित छन् । शिविरकी शान्ति सारूले गिट्टी कुटेर गुजारा चलाउनु परिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि पुराना खुइलिएका पालको शरणमा बस्नु परेको छ । बिहान बेलुकीको छाक टार्न सङ्घर्ष गरिरहनु परेको छ ।”