• १२ मंसिर २०८१, बुधबार

रोकिएन डेङ्गु सङक्रमण

blog

काठमाडौँ, कात्तिक ४ गते । कात्तिक लागिसक्दा पनि डेङ्गु सङक्रमण रोकिएको छैन । गर्मी मौसम सकिनै लाग्दा काठमाडौँसहित देशका विभिन्न जिल्लामा डेङ्गुका बिरामी थपिँदै गएका छन् । 

डेङ्गुले गत वर्ष काठमाडौँमा महामारीको रूप लिएको थियो । यो वर्ष भने कोशी प्रदेशसहित धरानमा महामारीको रूप लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मात्रै ४० हजार डेङ्गुका बिरामी पुगेका छन् । महाशाखा प्रमुख डा. रुद्र मरासिनीले यो वर्ष ४० हजार ५३१ जनालाई डेङ्गु सङक्रमण पुष्टि भएको जानकारी दिनुभयो । 

उहाँले २० जनाको मृत्यु भएको जानकारी दिँदै ७६ जिल्लामा डेङ्गु फैलिएको बताउनुभयो । डा. मरासिनीका अनुसार ११ जिल्लामा डेङ्गु सङक्रमित पाँच सय नाघेका छन् । कोशी प्रदेशमा मात्र २४ हजार ३९ जना सङक्रमित रहेका छन् । यस्तै मधेश प्रदेशमा ५९६, बागमती प्रदेशमा पाँच हजार ११३, गण्डकी प्रदेशमा आठ हजार ६७५, लुम्बिनी प्रदेशमा ७१३, कर्णाली प्रदेशमा १४३ र सुदूरपश्चिम प्रदेशमा एक हजार २५२ डेङ्गु सङक्रमित पुगेका छन् । त्यीमध्ये कोशी प्रदेशको सुनसरी जिल्लामा मात्रै १६ हजार एक सय अर्थात् ३९.७ प्रतिशत डेङ्गु पुष्टि भएको छ ।