• १० मंसिर २०८१, सोमबार

मादले–मारुनी नाच जोगाउँदै भकिम्लीवासी (फोटो फिचर)

blog

विद्यालय उद्घाटन कार्यक्रममा सोरठी भाकामा मादले–मारुनी नृत्य देखाउँदै भकिम्लीवासीहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, असोज २९ गते । 
बेनी नगरपालिका–३ भकिम्लीकी १८ वर्षीय बिपना पुन गाउँघरमा हुने विभिन्न कार्यक्रमहरूमा मारुनी नाच्नुहुन्छ । बाबु आमा र बाजेबाट सानै उमेरदेखि बिपनाले मारुनी नाच्न सिक्नुभयो । मलाई मारुनी नाच्न राम्रोसँग आउँछ बिपनाले भन्नुभयो, ‘‘हाम्रो कला संस्कृति संरक्षण गर्नुपर्दछ भनेर अभिभावकबाट मारुनी नाच्न सिकेकी हुँ ।’’ जातीय पहिरनमा सजिएर मारुनी नाच्दा गौरवको अनुभूति हुने बिपनाले बताउनुभयो । 

त्यस्तै पाका पुस्ताबाट मादले नाच सिकेको बताउँदै २६ वर्षीय पूर्ण थापाले मादले नाच नाच्न थालेको दुई वर्ष भयो । मगर तथा छन्त्याल समुदायको पुर्ख्यौली संस्कृतिको रूपमा चिनिने मादले–मारुनी नाच जोगाउन पाका पुस्ताले युवा पुस्तालाई सिकाउन थालेका छन् । संस्कृति लोप हुनबाट जोगाउन युवा पुस्तालाई सिकाउन थालिएको स्थानीय ७८ वर्षीय कुवीर थापामगरले बताउनुभयो ।

भकिम्लीमा निर्माण गरिएको नवनिर्मित २२ कोठे भवनको उद्घाटनका अवसरमा भकिम्लीको डोले, चिनाखेत र मुसुङ गाउँबाट आएका पुर्ख्यौली नाच समूहले आ–आफ्नो मादले मारुनी नाच प्रदर्शन गरे ।


गाउँमा आयोजना हुने विभिन्न कार्यक्रम, विवाह, क्षवर र छैटौँ लगायतका धार्मिक पर्वहरूमा सोरठी भाकासहित मादले र मारुनी नाच देखाउने प्रचलन रहेको लालवीर छन्त्यालले बताउनुभयो । गाउँमा आयोजना हुने हरेक कार्यक्रमहरूमा पुर्ख्यौली संस्कृतिका रूपमा रहेको मादले–मारुनी नाच्ने प्रचलन रहेको उहाँले सुनाउनुभयो । 

सोरठी गीतको भाकामा मादलको तालमा नाचिने यो नृत्य मगर समुदायको विवाह, व्रतबन्ध, क्षवर लगायतका शुभकार्यहरुमा अनिवार्य देखाउने प्रचलन रहेको उहाँ बताउनुहुन्छ ।


दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । अन्य सार्वजनिक कार्यक्रमहरूमा समेत गुन्जिने सोरठी गीत र नाचिने मादले मारुनीलाई जीवन्त राख्न भकिम्लीका स्थानीयहरू जुटेका छन् ।

भकिम्लीको ढोले, चिनाखेत र मुसुङका मगर र छन्त्यालहरूले पुर्ख्यौली नाच समूह गठन गरेर संरक्षणमा जुटेका छन् । हाम्रो संस्कृति समाजकै पहिचान मानेर अन्य जातिका समुदायले पनि सिक्न थालेका छन्, स्थानीय मनबहादुर पुनले भन्नुभयो, ‘‘आजकल मगर र छन्त्याल बाहेक अन्य जातिका युवाहरूले पनि सिक्न थालेका छन् ।’’

पुरानो कला संस्कृतिको संरक्षण होस् भनेर बुढेसकालमा पनि मारुनी नाच्न छाडेको छैन पुनले भन्नुभयो, ‘‘७ वर्षदेखि नाच्न थालेको हुँ अहिले ७४ वर्षको भए अझै जोसिलो तवरले नाच्ने गरेको छु । आजकल नयाँ पुस्ताले पनि चासो दिन थालेकाले खुसी मिलेको छ ।’’

सोरठी भाका सहित नाच्ने र गाउँने गरेर कम्तीमा दश देखि १५ जना कलाकार आवश्यक पर्ने उहाँ बताउनुहुन्छ । सोरठीको १६ वटा फरक फरक हाँगाहरूमा गीत गाउने गरिन्छ । युवालाई पनि नाचको ताल, सोरठीका भाकाहरू सिकाउन थालिएको लालवीर छन्त्यालले बताउनुभयो ।


सोरठी गीत निकै लामो हुनेगर्दछ । गीतको भाका र नाच्नेहरूबिच मादलको ताल मिल्नुपर्छ । सोरठी सात रात सात दिनसम्म पनि गाएर/नाचेर नसकिने मान्यता रहेको उहाँ बताउनुहुन्छ ।

महिलाले सोरठी भाका गाउने गर्छन् । पुरुषहरू कोही कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिँगारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा/टोपी, भोटो, खादी भांङरा र कम्मरमा मादल भिरेर कोही मादले बनेर (मादले मारुनी) नाच देखाउँछन् ।

नाच सुरु गर्नुपूर्व सरस्वती जगाउने गरिन्छ । मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरू एक्कासि काम्ने गर्छन् । तर, पूर्ण रूपमा अचेत नभए पनि स्वतःस्फूर्त रूपमा मादलको तालले उनीहरूका शरीरमा कम्पन ल्याउने र काम्ने गर्दछन् । छन्त्यालका उहाँका अनुसार नाच सुरु हुनु पूर्व नै स्थानीय पुर्ख्यौली भाकामा गाउने गीतसँगै मादलको तालमा काम्न सुरु गर्नेहरूमा मादलको २२ ताल पुगेपछि मात्रै आफैँ कम्पन हराउने गर्दछ ।