• १९ वैशाख २०८१, बुधबार

बुवाको गोलीले ज्यान लियो, तीन बच्चाको बिचल्ली

blog

मृतक दानबहादुर बटालाका तीन छोरा । तस्बिर: प्रेमराज

प्रेमराज सिम्खडा 

कालिकोट असोज २१ गते । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं ६ मा स्थानीय निर्वाचन २०७४ मा गोली चल्यो । निर्वाचन बहिस्कार गर्ने नेकपा समूह र सरकारी पक्षबिचको दाेहाेराे गोली हानाहानमा माल्कोटका दानबहादुर बटालालाई गोली लाग्यो र घाइते हुनुभयो । 

निर्वाचनमा उहाँका दाजु धनरुप वटाला वडा अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । उहाँको घटना स्थलमै मृत्यु भएको थियो । दाइलाई गोली लागेपछि बचाउन जानुभएका दानबहादुर वटालालाई पनि खुट्टामा चार गोली लाग्यो । दानबहादुरको उसै गोलीका कारणले भरपर्दो उपचार नपाएर मृत्यु भएपछि उहाँका तीन जना छोरा अहिले बिचल्लीमा छन् ।

दानबहादुरको २०७९ साल भदौ ११ गते निधन भएको थियो । उपचार नपाएर बटालाको मृत्यु पछि तीन जना बच्चा एकल बन्नुभएकी आमाको सहारामा छन् । राम्रोसँग छाक टार्न समेत समस्या छ अहिले यो परिवारलाई विद्यालय जाने विषय त परको विषय ? राम्रोसँग शरीर ढाक्ने कपडासमेत छैन । निकै कष्टपूर्ण दिन यी बालकले काटिरहेका छन् । 

हिमचुली कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कालीबहादुर महताराले बुवाको मृत्युपछि बच्चाको बिचल्ली भएको बताउनुभयो । दानबहादुर वटाला न विद्रोही पक्ष हुन, न त सरकारी पक्षका । उम्मेदवारलाई भोट दिनुपर्छ भनेर मतदान स्थल पुग्नेबितिकै गोली चल्न सुरु भयो र उनको मृत्यु भएको थियो । 

आमा सुपारी सहकारी बटालाको काँधमा छोराहरू १० वर्षका अमित, नौ वर्षका चक्र र सात वर्षका  मनोज बटालाको हेरचाह जिम्मेवारी छ । उहाँ आफैँ शारीरिक रूपमा कमजोर भएकाले काम गर्न नसक्ने बताउनुहुन्छ । बच्चाहरूको पालनपोषण र पठनपाठन गराउन समस्या भएको भन्दै सहयोगी दाता र सरकारसँग हारगुहार गर्नुहुन्छ ।