रुकुमपूर्व समाचारदाता
रुकुमपूर्व, असोज २२ गते । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर, आठ बँदेल र चार झारलको सिकार गर्न अनुमति दिएको हो ।
ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्रराज कँडेलले यस वर्षको पहिलो सिकारयाम सुरु भएको बताउनुभयो । उहाँका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल सिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ । यस वर्ष आरक्षमा सूचीकृत आठ कम्पनीमार्फत जर्मन, अमेरिका, रसिया र बेलारुसका सिकारीले सिकार खेल्ने अनुमति पाइसकेको कँडेलले जानकारी दिनुभयो ।
सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ‘ब्लक’ मा पठाउने गरिएको छ । पहिलो याममा अमेरिकाका पाँच, जर्मनी, रसिया र बुलरियाका एक/एक सिकारीले सिकार खेल्नका लागि अनुमति पाएका हुन् । बोलपत्रमार्फत एउटै सिकारीले १० देखि २० लाखसम्म राजस्व तिर्ने गरेका छन् ।
सिकारका लागि आरक्ष क्षेत्रलाई सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि असोज–मङ्सिर पहिलो याम र फागुन–वैशाखमा दोस्रो याम गरी एक वर्षमा दुई चरणमा सिकार हुँदै आएको छ । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयको भनाइ छ ।
विदेशी सिकारीसहितको समूहले १५ दिन जङ्गलमै समय बिताउँछन् । १५ दिनमा सिकार खेल्न नसके सिकारी खाली हात फर्कनुपर्ने आरक्षको नियम छ । विभागले हरेक सिकारयाममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्ने गरेको छ ।
साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । २०४४ सालमा स्थापना भएको सिकार आरक्ष रुकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । आरक्षको ६० प्रतिशत रुकुमपूर्व, ३० बागलुङ र १० प्रतिशत म्याग्दीको भू–भागमा रहेको छ ।
ढोरपाटन क्षेत्रमा ३२ थरीका स्तनधारी वन्यजन्तु र १३० प्रजातिका चराचुरुङ्गी पाइन्छन् । ढोरपाटनमा हिउँचितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पाण्डालगायतका लोपोन्मुख वन्यजन्तु र राति सिकार खेल्न, बच्चा र पोथी प्रजातिका वन्यजन्तुको सिकार गर्न भने निषेध छ । विदेशी सिकारी हेलिकोप्टर चार्टर गरी ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् ।