कालीकोट समाचारदाता
कालीकोट, असोज २२ गते । रास्कोट अस्पताल आउजाउ हुने सडक भत्केको वर्षौं बित्दा पनि मर्मत हुन सकेको छैन। सडक मर्मत नहुँदा बिरामी तथा सेवाग्राहीलाई आउजाउ गर्न समस्या भएको छ । गत वर्ष असोजमा परेको अविरल वर्षाले रास्कोट नगरपालिका–२ देखि रास्कोट अस्पताल जोड्ने सडकका विभिन्न स्थानमा पहिरोले क्षति पु-याएको थियो ।
सडक मर्मत गर्नेतर्फ कसैले चासो नदिएको सेवाग्राही बताउँछन्। अस्पतालमा आउने बिरामी पैदल आउन बाध्य छन्। हिँड्न नसक्ने बिरामीलाई स्ट्रेचर वा डोकोमा बोकेर ल्याउनु परेको छ । केही महिनाअघि रास्कोट नगरपालिका–३ का पङ्ख फडेराले डोकोमा बिरामी बोकेर अस्पताल ल्याउनुभएको अस्पतालका कर्मचारी बताउँछन् ।
सडक मर्मत किन भएन भनेर चर्को आवाज उठाउनुका साथै नगरपालिकामा निवेदन दिँदा पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ । रास्कोट नगरपालिका–२, दीपक तिमिल्सेनाले सडक मर्मत नहुँदा बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजानु परेको गुनासो सुनाउनुभयो । रास्कोट–४ का गोकर्ण सज्यालले नगरपालिकाले आफू अनुकूल मात्र काम गर्ने भएकाले सडक बनाउनेतर्फ चासो नदिएको आरोप लगाउनुभयो । दसैँ आउन लाग्दा जति सक्यो छिटो सडक मर्मत गर्न उहाँले आग्रह गर्नुभएको छ । यता नगरपालिकाले भने सडक मर्मतका लागि बजेट नभएको बताएको छ । नगरपालिका उपप्रमुख मनिराज बरालले भन्नुभयो, “सडक मर्मत गर्ने कुरा भएको त हो तर नगरपालिकाको डोजर सञ्चालन गर्नका लागि तेल अभाव छ काम ढिलो हुने भयो ।”