बुलबुले समाचारदाता
सुर्खेत, असोज २२ गते । कर्णाली राजमार्ग र रत्न राजमार्ग आवधिक मर्मत गरिने भएको छ। सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले दुवै राजमार्गमा गरी करिब ४० किलोमिटर सडकमा आवधिक मर्मतको काम गर्ने भएको हो । नेपाल सरकारको १५ प्रतिशत र विश्व बैङ्कको ८५ प्रतिशत आर्थिक साझेदारीमा राजमार्गका सडक मर्मत गर्न लागिएको छ ।
आगामी असार मसान्तसम्ममा मर्मत गरिसक्ने गरी सम्झौता भएको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले जनाएको छ । यसका लागि गत सोमबार तिरुपाते निर्माण सेवा घोराही दाङसँग ठेक्का सम्झौता भएको छ ।
मर्मतका लागि भ्याटबाहेक नौ करोड २५ लाख बजेटमा ठेक्का सम्झौता भएको जनाइएको छ । सम्झौता अनुसार आउँदो असारसम्ममा आवधिक सडक मर्मतको काम गरिसक्नुपर्ने छ ।
अधिकांश सडकको अवस्था जीर्ण रहेकाले सवारी दुर्घटनाको जोखिम बढेको छ। सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्नका लागि सडक मर्मत अनिवार्य भएको छ ।
सवारीसाधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको कार्यालयका इन्जिनियर अशोक चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार पूरै बिग्रिएर पुनस्र्थापना गर्नेभन्दा मर्मत चाहिने सडक छनोट गरिएको छ ।
रत्न राजमार्ग र कर्णाली राजमार्गमा गरी करिब ४० किलोमिटर सडकको आवधिक मर्मत गर्ने काम अघि बढाइएको छ। दसैँअगाडि नै काम सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।
जनशक्ति र सामग्री उपलब्ध भए दसैँअगाडि नै काम सुरु हुने छ। कर्णाली राजमार्गको बाङ्गेसिमलदेखि–बड्डीचौरसम्म र मैन खोलादेखि तल्लोडुङ्गेश्वरसम्म आवधिक मर्मतको काम गर्न लागिएको हो ।
दुई वटा राजमार्गका तीन खण्डमा सडक आवधिक मर्मत गरिने छ। कर्णाली राजमार्गका दुई खण्ड र रत्न राजमार्गको एक खण्डमा सडक मर्मत गर्न लागिएको हो । सडक सतह मर्मत, नाला मर्मत, गिट्टी छर्ने र रिसिङलगायतका काम हुने छन् ।
उक्त कामको अनुगमन सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले गर्ने छ। २०८० साल असोजमा सम्झौता भएकामा आवधिक सडक मर्मतको काम आगामी २०८१ साल असारसम्ममा गरिसक्नुपर्ने छ ।
धुलियाविटदेखि बाङ्गेसिमलसम्मको चार लेनको सडकका खाल्टाखुल्टी पुर्ने काम धमाधम चलिरहेको छ। खाल्टाखुल्टीले सडक जीर्ण बनेको भन्दै मर्मत गर्न लागिएको इन्जिनियर चौधरीले बताउनुभयो ।