मेरा माइती राजाहरू
यसपालि तिमीहरूको गाउँको चौतारीमा
मेरा गुनासाका गीतहरू गुन्जिँदैनन् है !
ठुल्दाजै
तिमीले सौभाग्यसँगै
जिन्दगीको झरीमा कहिलै रुझ्न नपरोस् भन्दै
उपहारमा दिएको जिन्दगीको छाता
आज कता हराएछ कता
यता बेस्सरी परेको दुःखको झरी बोकेर
त्यताको खुसी भिजाउन आउँदिनँ नि है !
आमा जस्तै प्यारी भाउजुको आशीर्वाद मनन नगरेर
ठुलै गल्ती गरेँछु नि दाजै मैले
भाउजूले जसरी सम्हालेर राख्नै जानिनँ
जतन गरी साँच्नै जानिन
सम्बन्धका धर्साहरू
मनका रहरहरू
अब यो रङ्गीन सिउँदोको सपना फुटाएर
बेखुसी ऐनाको सिसामा टेकेर
आमाका उज्यालिएको मुहारमा ग्रहण लगाउन आउँदिन नि है !
त्यसो त, कल्पनाको महलमा मैले
समयको पेन्डुलम भएर
उसँग जिउन नजानेकी कहाँ हो र ?
उसलाई मेरो महìव नभएको पनि कहाँ हो र ?
घाम लाग्दा होस् या पानी पर्दा
अँध्यारो होस् या उज्यालो
म उसँगै हुन्थे उसको छाया बनेर
त्यसैले दाजै
न त परिश्रमको पसिनामा
न त बेमौसमी आँखाका पानीमा
उसलाई कहिलै भिजाइनँ उसको रङ्गीन छाता भएर
हो, म उसको आवश्यकता थिएँ
उ मेरो रहर र खुसी थियो
यी सबै भ्रमका काँडा भाँचेर
फूल जस्तै मुस्कुराउन फेरि सक्दिनँ नि है !
ऊ खोसियो कि सुटुक्क चोरियो चालै पाइनँ
जसरी चोरेको थियो उसले मेरो मनलाई
र झुक्याएको थियो सबैको आँखालाई
हो त्यसै गरी फेरेर आफ्नो रङ्गीन स्वरूपलाई छक्याएर गयो
तिम्रा झोलीका देवतालाई सुम्पेर कतै टाढा बिलायो
अब यिनलाई एक्लै भाग्य रेखामा उभ्याएर
यिनीहरूको उज्यालो भविष्यलाई कुल्चेर
न सक्छु माइतीको आँगनमा नाच्न
न सक्छु चौतारीमा सखीहरूसँग गाउन
काखीमा च्यापेर तिम्रा झोलीका देवतालाई
अहँ म कतै दौडिन नसक्ने भएकी छु दाजै
मभित्रको बिरहको भाका लिएर
माइतीको दौलोमा टेक्दिनँ नि है !
मेरा माइती राजाहरू
यसपालि तीजका भाका
छोरीको मुहार सम्झिएर
बुहारीको सम्मानमा गाउन
मेरी आमालाई खबर पु-याइदिनु है !
कपन, काठमाडौँ