अँध्यारोमा फुलेँ, अँध्यारोमा ओइलिएँ
जीवनको यथार्थ अँध्यारोमै पाएँ !
रहस्य लुकेका अँध्यारोमा धेरै
त्यही देख्न खोज्ने चाहना छ मेरै !
म के हुँ कहाँ छु देखून् सबैले
तर सब गएछन् अँध्यारोमा खेरै !
अँध्यारोमै छोपिन्छ पापको राप
तर भित्र भित्रै राकिन्छ ताप !
जलन त्यो अघोर दुःखी छटपटाई
उज्यालोमा प्रस्टिन्छ ननिको गराइ !
जन्मदा म आँखा नखोलेरै रोएँ
अवसानमा आँखा नखोलेरै गएँ !
उज्यालोको आशा सदैव गरेर
तर बित्छ जीवन अँध्यारो भएर !
कसैको जीवनमा किन रातै रात
न दिनको उज्यालो न कसैको साथ !
लहरा धरामा खोज्छ सहारा
कालो चाँदरले छोपिदिन्छ सारा !
आँखा छ मेरो भनी पर्छु दङ्ग
किन गर्छु दम्भ किन छ घमण्ड !
अँध्यारोमा केही देख्न सकिन्न
व्यर्थैमा गर्छु मिथ्याको गर्व !!
चण्डोल