• १२ साउन २०८१, शनिबार

माओवादी नेताहरु कुचो लिएर अस्पतालमा

blog

माओवादी कार्यकर्ता अस्पतालको प्राङ्गण सरसफाइ गर्दै । तस्बिर : प्रनिश गिरी

प्रनिश गिरी

कुश्मा (पर्वत), असोज ११ गते । परिवर्तनका लागि जनयुद्ध हाँकेका  माओवादीका नेता तथा कार्यकर्ताहरू फेरि कुचो लिएर अस्पताल, गाउँ सरसफाइमा लागेका छन् । 

माओवादी नेताहरू हातमा कुचो लिई आज बिहीबार बिहान सरसफाइ गर्न  जिल्ला अस्पताल पर्वत पुगेका छन् । सरसफाइको नेतृत्व माओवादी केन्द्रका केन्द्रीय सदस्य बलावती शर्माले गर्नुभएको छ । हातमा कुचो लिँदै अस्पताल हाताभित्र सरसफाइमा जुट्दै गर्नुभएकी शर्माले भन्नुभयो, “हामीले हिजो राज्य व्यवस्था बदल्नका लागि बन्दुक उठायौँ । अव जनताको आर्थिक अवस्था बदल्न लागेका छौँ ।”

अस्पतालको फोहोर सफाइ गरी सुशासन स्थापनाका लागि साङ्केतिक लडाइ सुरु गरिएको उहाँले दाबी गर्नुभयो । नेतृ शर्माले अब विकास र समृद्धिका लागि उत्पादन कार्यसँग जोडिँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पनि श्रममा जोडिनुपर्ने बताउनुभयो । 

नेतृ शर्माको नेतृत्वमा जिल्ला अस्पताल पुगेको माओवादी कार्यकर्ताको समूहले एक दिने जनश्रम अन्तर्गत अस्पताल हाताभित्र र बाहिर सरसफाइ गरेको थियो ।

जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले राजनीतिक पार्टीका कार्यकर्ता त्यसमा पनि केन्द्रीय तहको नेता नै अस्पताल क्षेत्रमा सरसफाइ गर्न आउनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गरिब जनताको स्वास्थ्य उपचार गर्ने जिल्ला अस्पताल आएर कुनै पनि राजनीतिक दलका कार्यकर्ताले सरसफाइ गर्नु सकारात्मक सन्देश हो । यसले जनताको मन जित्नेछ ।”

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका साथ पर्वतमा पनि माओवादीले जनतासँग हातेमालो गर्दै सामाजिक कार्यमा जुटेको जनाएका छन् । जिल्लाका विहादी, पैयुँ, पाङ, ठुलीपोखरी, कटुवाचौपारी, फलेवास, बाच्छालगायत थुप्रै स्थानमा पुगेर माओवादीहरूले सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको जनाएका छन् ।